सुर्खेतमा नसर्ने रोगको बिगबिगी बढ्यो, सबैभन्दा खतरनाक क्यान्सर



शेरबहादुर थापा सुर्खेत, १० माघ ।
सुर्खेतमा नसर्ने रोगहरुको बिगबिगी बढेको छ । सबैभन्दा बढि क्यान्सर रोगले सुर्खेतिलाई चपेटामा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतमा नसर्ने रोगहरु मध्ये सबैभन्दा बढि क्यान्सर, मुटुरोग, मृगौला रोग, मधुमेह, अल्जाइमर्स, स्पाइनल, इन्जुरी र हेड इन्जुरी जस्ता रोगहरु बढदै गएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमूख बसन्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार अन्य नसर्ने रोगका तुलनामा क्यान्सर, मुटुरोग हर्लक्कै बढेको छ । धुम्रपान, अत्याधिक मद्यपान, सुर्ति तथा गुटखाजन्य पद्वार्थको सेवन, शारीरिक अक्रियाशिलता, कम मात्रामा मौसमी फलफूलको सेवन गर्नु, सागपात कम खानु आदि कारणले यी रोगहरु बढन थालेका उनको भनाई छ ।

जनस्वास्थ्य प्रमूख अधिकारीले अब समयमै सर्ने रोगहरु जस्तै नसर्ने रोगहरुका बारेमा समेत जानकारी लिदै त्यसको न्युनिकरणकालागि सबैले हातेमालो गर्दै अघि बढन जरुरी भएको बताए ।

सुर्खेतमा क्यान्सर रोगको उपचार नहुने भएकोले स्थानीय क्यान्सर लगायतका अन्य रोगका पिडितहरुलाई सरकारले तोकेको अस्पतालमा स्थानीय निकायको सिफारिसका आधारमा न्यून आय भएका व्यक्तिहरुलाई पठाइएको तथ्याङ्कलाई मात्रै आधार मानेर हेर्ने हो भने गत आर्थिक वर्ष २०७२।०७३ मा १११ जनालाई सुर्खेतबाट उपचारार्थ पठाइएको छ ।

उक्त तथ्याकंअनुसार सबैभन्दा बढि क्यान्सर रोगी ५२ जना, मुटुरोगी ३२ जना, किडनी रोगी १७ जना भेटिएका छन् ।
यस्तै चालु आर्थिक वर्षको मंसिर महिना सम्म नसर्ने रोगको उपचारकालागि सरकारबाट पाइने औषधी उपचार रकमका लागि निवेदन दिनेहरुको संख्या ८३ जना पुगेको छ । यो संख्या गत साउन १ गते दखीको भएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका अनुसार यो चालु आर्थिक वर्षमा क्यान्सर रोगी ३७ जना, मुटुरोगी २३ जना किडनि रोगी १७ जना र एनिमियाका ७ जना रोगीलाई आथिृक सहायताकालागि केन्द्रमा सिफारिस गरि पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमूख बसन्त अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्