होटल क्षेत्रमा ६० अर्ब लगानी थपियो



दीपेन्द्र थापा, काठमाडौं
सन् २०१६ मा होटल व्यवसायमा करिब ६० अर्ब रुपियाँ लगानीे थपिएको छ। भूकम्प, नाकाबन्दी र राजनीतिक अस्थिरताका कारण सन् २०१५ मा खुम्चिएको पर्यटन व्यवसाय विस्तारै लयमा फर्किन क्रममा यस क्षेत्रमा लगानी बढ्न थालेको हो।

नेपालको होटल व्यवसायमा करिब साढे तीन खर्ब रुपियाँ लगानी रहेको छ। सन् २०१६ मा साढे तीन खर्बको १७ प्रतिशत अर्थात (करिब ६० अर्ब रुपियाँ) लगानी थपिएको हो। होटल संघ नेपाल (हान) का अनुसार सन् २०१५ भन्दा अगाडि वर्षेनी २५ प्रतिशतको हाराहारीमा लगानीमा वृद्धि हुँदै गएकोमा सन् २०१५ मा गएको भूकम्पपछि विगतका वर्षको तुलनामा करिब ८ प्रतिशतले कम आएको हो। हानका अनुसार यो तथ्यांक विदेशी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको होटलको मात्रै हो।

भूकम्पसँगै नाकाबन्दीले पर्यटक आगमनमा कमी आएकाले लगानीकर्ताहरूले लगानी नगरेका हुन अहिले भने विस्तारै लगानी वृद्धि हुँदै गएको हानको भनाइ छ। सन् २०१६ मा ७ लाख २९ हजार ५५० पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या सन् २०१५ को तुलनामा ३६ दशमलव ११ प्रतिशतले बढी हो। पर्यटन आगमनमा आएको वृद्धिसँगै लगानीकर्ताहरूले लगानी गरेको हुन सक्ने हानले बताएको छ।
अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा मात्र भएकाले काठमाडौंमा मात्र कुल लगानीको ५५ प्रतिशत रहेको हानले जनाएको छ।काठमाडौंबाहेक पोखरा, लुम्बिनी र चितवनमा सबैभन्दा धेरै लगानी रहेको हानका कार्यकारी निर्देशक प्रवेश अर्यालले जानकारी दिनुभयो। बारा, भैरहवा र पोखरामा क्षेत्रीय विमानस्थल निर्माणको क्रममा रहेकाले पनि सो स्थानमा लगानीमा वृद्धि भएको हुन सक्ने अर्यालको भनाइ छ। उहाँले भन्नुभयो–‘पर्यटन आगमनमा वृद्धि ल्याउनको लागि अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा जोड दिनुपर्छ।’ पोखरा, बारा लुम्बिनीको विमानस्थल निर्माणपछि भने नेपालमा पनि पर्यटन आगमनको दर पनि बढ्ने आशा रहेको उहाँको विश्वास छ। निर्देशक अर्यालका अनुसार आफ्नै घरमा होटल खोल्दा पनि कम्तिमा तीन–चार करोड रुपियाँ खर्चिनुपर्छ।

हानका अनुसार हाल ३८ हजार पर्यटनस्तरीय कोठा रहेका छन्। होटल व्यवसाय नेपालको पर्यटन क्षेत्रको मेरुदण्ड भएकाले होटलको विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सबै सरोकारवाला अग्रसर भएर लागे यसमा अझै धेरै लगानी हुने सम्भावना रहेको बताउनुभयो। अहिले पर्यटकीय क्षेत्र सीमित रहेको र नयाँ खाले पर्यटन क्षेत्रको सम्भाव्यता खोज्न सके मुलुकको पर्यटन व्यवसायमा टेवा पुग्नेछ। हालको पर्यटन क्षेत्र भनेको काठमाडौंबाहेक पोखरा, चितवन र लुम्बिनीमा सीमित रहेकाले नयाँखाले पदमार्ग र पर्यटन क्षेत्र खोज्नुपर्ने हानका महासचिव विनायक शाहले बताउनुभयो। उहाँले भन्नुभयो–‘हामीसँग अन्नपूर्ण पदमार्ग, खप्तड, माउन्टेन पदमार्ग धेरै छन्।

सडक, पूर्वाधार, सञ्चार र लगानी सुरक्षाको वातावरण निर्माण गर्ने सके होटल क्षेत्रमा प्रशस्तै लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ता तयार छन्।’ यसै वर्ष मात्र डेढ दर्जन नयाँ होटल थपिएका छन्। हाल नेपालमा ५ तारे होटलमा ८ वटा रहका छन् जसमध्ये पोखरामा दुई वटा होटल ग्रान्ड र फूलबारी छन्। त्यस्तै काठमाडौंमा रहेको होटल एभरेष्ट भूकम्पपछि बन्द छ। हानका अनुसार सन् २०१९ सम्म कम्तिम ४ वटा नयाँ तारे होटलको निर्माण सम्पन्न गरी सञ्चालनमा आउँदै छन्।

प्रतिक्रिया दिनुहोस्