मनाङमस्र्याङ्दी विरासत थाम्दै



धन बस्नेत, पोखरा

आहा गोल्डकपमा बनाएको विरासतलाई थाम्दै लक्ष्मी हुन्डाई मनाङमस्र्याङदीले धरान फुटबल क्लबमाथि ४–१ गोलले जित निकालेर सेमिफाइनलमा स्थान बनाएको छ।

पोखरा मैदानमा आइतबार भएको खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्दै मनाङ उपाधि यात्रामा अघि बढ्यो। पोखरामा गर्विलो छवि बनाएको मनाङले धरानलाई पन्छाउन खासै कठिनाइ झेल्नुपरेन। तर सान्त्वना गोल फर्काएर धरानले पोखरेली दर्शकको मन भने जित्न सफल रह्यो। सधैं मनाङमस्र्याङ्दीलाई समर्थन गर्दै आएका पोखरेलीले एकै गोल गरेको धरानलाई मोसफलका दर्शकले उल्लेख्य समर्थन गरे।

कप्तान अनिल गुरुङको प्रदर्शन उत्कृष्ट रह्यो। तर उनको भन्दा बढी म्यान अफ दि म्याच घोषित सुजल श्रेष्ठ प्रदर्शन निर्णायकले उत्कृष्ट देखे। घरेलु मैदानमा सधैं ओझेलमा रहने अनिलले पहिलो गोलका लागि सुजललाई महत्त्वपूर्ण अवसर सृजना गरिदिए। ३३औं मिनेटमा उनले दिएको क्रसपासमा सुजलले गरेको हेडिङ बल क्रसबारमा लागेर गोलकिपरसँग ठोक्किँदै पोस्टभित्र छिर्यो। त्यसपछि ओलावालेको पासमा अनिलले ४१औं मिनेटमा पहिलो बार च्याप्दै डिबक्स भित्रबाट गरेको प्रहारले जाली हल्लाउन पुग्यो। जसले मनाङलाई पहिलो हाफ अगाडि नै स्पष्ट २–० गोलको अग्रता दिलायो।

६०औं मिनेटमा अनिलले व्यक्तिगत दोस्रो गोल गर्दा रोहित चन्दले उनलाई अवसर सृजना गरिदिए। चन्दले दिएको पासलाई अनिलले ‘उत्कृष्ट जम्पिङ ट्रेडमार्क हेडिङ’ गरेको बलले पोस्टको दिशा लियो। ६३औं मिनेटमा अनिलकै पासमा सुजलले व्यक्तिगत दोस्रो गोल गरे। सुजलले गोलकिपरलाई विट गर्दै गोल गरेपछि मनाङको खातामा स्पष्ट चार गोल लेखियो। दुई गोल र दुई अवसर सृजना गरे पनि निर्णायकले अनिललाई छोड्दै सुजललाई म्यान अफ दि म्याचको ट्रफीको हकदार बनाइदिए।

धरानले पनि दर्शकको मन जित्ने प्रयासलाई ७३ मिनेटमा सार्थक बनायो निशान लिम्बुको व्याकपासलाई दीपक राईको उत्कृष्ट प्रहार गोलमा परिणत भएपछि दर्शकले खुसीयाली मनाए। यद्यपि त्यो पर्याप्त नभए पनि दर्शकलाई सान्त्वनाको रुपमा रह्यो। अतिरिक्त समयमा पनि दीपक राईले डिबक्सभित्रबाट हानेको पावर सट बल आकासिएको थियो।

‘हाम्रो सेट टिम थिएन्। उनीहरूको पुरै सेट थियो। खेलाडी घाइते थिए। त्यसले गर्दा पनि खेल स्तरीयता देखाउन सकिएन’, धरान फुटबल क्लबका प्रशिक्षक सुवास केसीले भने– ‘खेलाडीहरू घाइते भएर पनि जुन प्रदर्शन गरे त्यो उत्कृष्ट नै मान्नुपर्छ।’

‘स्ट्राइकरको कहिले मिस हुन्छ, कहिले हानेको बल गोल हुन्छ। यो त स्वाभाविकै नै हो। हामीले दोस्रो हाफमा केही कम खेल्यौं। अर्को खेलका लागि भनेर बढी रिस्क लिएनौं।’ मनाङमस्र्याङ्दीका प्रशिक्षण छिरिङ लोप्साङ गुरुङले भने– ‘सेमिफाइनल अझ उत्कृष्ट प्रदर्शन गर्नेछौं।’

आज सोमबार रमपम झापा–११ ले आर्मीसित प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्