रुनीको ऐतिहासिक गोल



लन्डन, (एजेन्सी)
वायने रुनीले म्यानचेस्टर युनाइटेड क्लबको इतिहासमा आफ्नो नाम लेखाएका छन्। रुनीले स्टपेज समयमा गोल गर्दै क्लबका शीर्ष गोलकर्ता बन्न सौभाग्य प्राप्त गरेका हुन्। उनले अन्तिममा गरेको गोलको सहयोगले युनाइटेडले स्टोक सिटीसँग १–१ बराबरी पनि खेलेको थियो। प्रिमियर लिगको अंकतालिकामा युनाइटेड ४१ अंकका साथ छैटौं स्थानमा रहेको छ।

शनिबार भएको खेलमा स्टोक हुआ माटाको आत्मघाती गोलले १–० ले अगाडि रहेको थियो। युनाइटेड हारको निकट पुगिसकेको थियो। अन्तिममा पाँच मिनेट थपिएको थियो। जसको चौथो मिनेटमा रुनीले फ्रिकिकबाट गोल गरेका थिए। उक्त गोलसँगै उनले सर बबी चाल्र्टनलाई एक गोलले पछि पारेर क्लबका लागि २ सय ५०औं गोल गर्न सफल भए। चाल्र्टनको ४४ वर्षको क्लब कीर्तिमान तोडिएको छ। साथै युनाइटेडको यस सिजनमा लगातार १७ खेलमा अपराजित बनेको छ।

प्रतिक्रिया दिनुहोस्