तेरियालाई भारु ३० लाख र कार पुरस्कार ऋतिक रोशनको फिल्म खेल्ने अफर



चर्चित भारतीय टेलिभिजन रियालिटी शो झलक दिख लाजाको उपाधि नेपाली प्रतिस्पर्धी तेरिया फौजा मगरले जितेको खबर शुक्रबार नै भारतीय सञ्चारमाध्यमले लेखे पनि आधिकारिक रूपमा भने कलर्स टेलिभिजनमार्फत् शनिबार उनलाई विजेता घोषणा गरिएको छ।

नवौं सिजनमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई पछाडि पार्दै १४ वर्षीया उनलाई बलिउड हिरो सलमान खानले नवौं सिजनको झलक दिख लाजाको विजेता घोषणा गरेका थिए। उनले सान्तनु महेश्वरी र सलमान युसुफलाई हराउँदै शीर्ष उपाधि हात पारेकी हुन्। सान्तुना सेकेन्ड रनर्सअप भइन् भने फस्ट रनर्सअपको उपाधि सलमानले जितेका थिए।

एसएमएस भोटिङको आधारमा भएको फाइनल राउन्डमा उनले सर्वाधिक मत पाएकी थिइन्। उपाधिसँगै ३० लाख भारु र एउटा कार पाएकी थिइन्। जुन उपहार भारतीय टेलिभिजन शोमध्ये सबैभन्दा बढी रकम हो। रूपन्देही रुद्रनगरकी उनले यसअघि सन् २०१४ मा जीटिभीबाट प्रसारण हुने रियालिटी शो डान्स इन्डिया डान्समा पनि सबैलाई उछिन्दै विजेता भएकी थिइन्।

उपाधि जितेपछि तेरियाले आफूलाई बलिउडमा प्रवेश गरी नायिका सोनाक्षी सिन्हाको साथ फिल्म खेल्ने चाहना भएको बताएकी थिइन्। ‘मलाई थाहा छैन म यो उपाधि जितेपछि के गर्छु, म बलिउडलाई टिभीमा हेरेर ठूली भएकी हुँ। मौका मिल्यो भने बलिउडमा प्रवेश गर्नेछु –उनले भनिन्। कार्यक्रममा पुगेका नायक ऋतिक रोशनले उनलाई आफ्नो फिल्ममा खेल्न अफर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्