इतिहासकी भृकुटी र वर्तमानकी निशाकुसुम



(कपिल काफ्ले) एउटै तस्वीरमा नेपालका दोस्रो राष्ट्रपति र अन्तिम राजा मुस्कुराइरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र हात जोडेर अभिवादन आदान–प्रदान गरिरहेका छन्। भण्डारी घरबेटी र शाह अतिथि। यो सन्दर्भ हो विवाहको। भण्डारीकी कान्छी छोरी डा. निशाकुसुम र प्रथम राष्ट्रपति डा. रामवरण यादवका नाति अभिशेकबीच सम्पन्न विवाहमा आमन्त्रित शाहको उपस्थिति र राष्ट्रपतिको स्वागतले गत साता निकै चर्चा पायो। संसारमा रक्तपातपूर्ण घटनापछि मात्र राजतन्त्रको अन्त्य भएको इतिहास रहे तापनि नेपालमा भिन्न अवस्थामा गणतन्त्रको उदय भएको पृष्ठभूमिमा यो सन्दर्भ ऐतिहासिक र अविस्मरणीय बनेको छ।

यही तस्वीर हेरेर गत साता यस पंक्तिकारले मुलुकमा पत्रकारिता प्रशिक्षणमा सबैभन्दा जेठो संस्था नेपाल प्रेस इन्ष्टिच्युटमा अध्ययन गर्ने ३३ समूहका प्रशिक्षार्थी पत्रकारका बीच सानो सर्वेक्षण गर्यो। राष्ट्रपति भण्डारीको निमन्त्रणामा पूर्वराजाको उपस्थितिलाई के भन्नुहुन्छ भनेर चार विकल्पसहित सोधेको प्रश्नमा करिब ६० प्रतिशतको जवाफ थियो, ‘गणतन्त्र र राजतन्त्रको समन्वय’। मुलुकका विभिन्न क्षेत्र र समुदायबाट आएका टिप्पणीले पनि यस घटनालाई सुखदरूपमा लिएको देखियो।

अर्कातिर, निशाकुसुम र अभिशेकको विवाह स्वयम् समावेशी अभ्यासको एक उदाहरण हो। पहाडी मूलकी दुलही र तराई मूलका दुलहा एक पक्ष हो भने नेपाली कांग्रेस परिवारका दुलहा र नेकपा एमाले परिवारकी दुलही अर्को पक्ष। जनआन्दोलन भाग २ ले ल्याएको एक सकारात्मक परिवर्तनका रूपमा मानिएको ‘जेसी’ (जेन्डर इक्वालिटी एन्ड सोसल इन्क्लुजन) अवधारणालाई भण्डारी र यादवको परिवारले वैवाहिक सम्बन्धमा स्वीकार मात्र गरेन, जातीय राजनीतिलाई आधार बनाएर सत्तामा जानेहरूलाई चुनौतीसमेत दियो। वैवाहिक जीवनमा रूपान्तरण गर्ने गरी जोसँग प्रेमसम्बन्ध स्थापित हुनसक्छ उनीहरूबीच राजनीतिक कित्ताबन्दीका लागि संघीय सीमा कसरी कोर्न सकिन्छ ⁄ जातिगत आधारमा संघीयताको गठन अप्राकृतिक रहेको तथ्य पनि यस प्रेमविवाहले प्रमाणित गरिदिएको छ। राष्ट्रपतिले आमन्त्रण गरेर पूर्वराजालाई पहिचान र सम्मान दिइन्, उनको अस्तित्व स्वीकार गरिन् भने ज्ञानेन्द्रले निमन्त्रणा मानेर गणतन्त्रको स्वागत गरे। राजनीतिक परिवर्तनले सामाजिक स्वरूप प्राप्त गर्यो।

एमाले पार्टीलाई उचाइ दिने र नयाँ दिशा प्रदान गर्ने तत्कालीन महासचिव मदन भण्डारीकी छोरी निशा ‘जेसी’ अवधारणाको सामाजिक अभ्यास तथा राजतन्त्र र गणतन्त्रको भावनात्मक समन्वयको कडी बन्नु अर्को सुखद सन्दर्भ हो। मालेबाट पार्टीलाई एमाले बनाउने क्रममा नेकपा माक्र्सवादीलाई एकीकरण गर्ने र पुराना प्रभावशाली नेता मनमोहन अधिकारीलाई पार्टीको शिरमा राखेर आफू महासचिव बन्ने मदन भण्डारीको चिन्तन आफैंमा समावेशी अवधारणाको बलियो प्रमाण हो। नेपाली कम्युनिस्ट आन्दोलनको पुरानो र नयाँ पुस्तालाई एक घरमा प्रवेश गराएर पारिवारिक सदस्यको स्वरूप दिने मदन भण्डारीको आत्माले छोरी निशाकुसुमको यस विवाहलाई स्वागत गरेको हुनुपर्छ। पछिल्लो समय राष्ट्रवादको नारालाई उठाउँदै सडक आन्दोलनमा समेत उत्रिएका एमाले अध्यक्ष ओलीले नै यो तारतम्य मिलाएका हुन् भने, उनलाई पनि मदन भण्डारीको आत्माले धन्यवाद दिएको हुनुपर्छ। राष्ट्रवादलाई बढावा दिन पनि पूर्वराजालाई बोलाउनुपर्छ, एमालेको पक्षमा जनलहर बढ्छ भन्दै ओलीले राष्ट्रपति भण्डारीलाई भनेपछि उनले पूर्वराजालाई बोलाएको टिप्पणी पनि यसबीच छापामा आएको छ। नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला बारम्बार भन्थे– प्रजातन्त्रमा सबैको जीत हुन्छ। ओली र भण्डारीले पूर्वराजालाई समेत जीत गराउने व्यवस्था मिलाए, एउटा विद्रोहमा जान सक्ने शक्तिलाई सामान्यीकरण गरे भने त्यसले राष्ट्रियताको पक्षमा योगदान दिएकै मान्नुपर्छ।

राजतन्त्र ढलेपछि गणतन्त्रको प्रतीक राष्ट्रपति भवनमा पहिलोपटक प्रवेश गरेका पूर्वराजा ज्ञानेन्द्रको व्यवहारले परिवर्तनको स्वीकृति दिइरहेको थियो। राजनीतिक विश्लेषकहरूले पूर्वराजा ज्ञानेन्द्रको यो कदमको स्वागत गर्दै उनीहरूले निषेधको राजनीतिमा आइसब्रेक भएको टिप्पणीसमेत गरेका छन्, जो आफैंमा ठूलो उपलब्धिको पक्ष हो। हुन त, कतिपय आलोचकले ज्ञानेन्द्रलाई बोलाउँदा गणतन्त्र झुकेको अनुभूति भयो भनेर टिप्पणी पनि गरेका छन्। तर विनारक्तपात नारायणहिटी छोड्ने ज्ञानेन्द्रलाई धन्यवाद भन्न पनि र गणतन्त्रमा सबैको जीत हुन्छ, परिवर्तन पूर्वराजाका लागि पनि हो भन्ने सन्देश दिनका लागि पनि यस हदसम्मको नरम व्यवहार आवश्यक थियो। यसलाई झुकेको अर्थमा लिनु हठधर्मी व्यवहार मात्र हो। समन्वयमा आउनु छ भने एक–आपसको अस्तित्व स्वीकार गर्नै पर्छ, ज्ञानेन्द्र पूर्वराष्ट्राध्यक्ष हुन् भन्ने सत्य स्वीकार गर्न कसैले हिचकिचाउनु हुन्न।

गणतन्त्रवादीले राजतन्त्रवादीलाई पहिचान दिए पनि पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रपति विद्या भण्डारीलाई सम्मान दिनुका अतिरिक्त अरु परिवर्तनका पक्षधरलाई इज्जत दिन भने सकेनन्। विवाह समारोहमा शीतलनिवास पुगेका पूर्वराजा ज्ञानेन्द्र पूर्वपञ्चहरू पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्द, शाही कालका गृहमन्त्री कमल थापा, पूर्वसेनापति प्यारजंग थापा र गणेश थापाकै घेराभित्र हराए। शायद व्यावहारिक कारण पनि थियो गणतन्त्रवादीका निकट नजानका लागि। हरेक टेबुलमा डुल्दै हात मिलाउँदै हिँड्नु स्वाभाविक पनि हुने थिएन। गणतन्त्रवादीहरू उनको नजिक आएका भए, उनले पनि वार्तालाप गर्ने नै थिए होलान्। विवाह समारोहमा भाग लिन पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, खिलराज रेग्मी र अन्य प्रभावशाली नेताहरू वामदेव गौतम, चित्रबहादुर केसीलगायतको उपस्थिति थियो। सर्वोच्च अदालतका प्रधान न्यायाधीश सुशीला कार्कीलगायत उच्च ओहदाका व्यक्तिहरू त्यहाँ उपस्थित भए पनि सञ्चारमाध्यमको केन्द्रविन्दु थिए पूर्वराजा ज्ञानेन्द्र। सञ्चारमाध्यममा आएको समाचारको भाका यस्तो थियो, ‘पूर्वराजा ज्ञानेन्द्र शाह गणतन्त्र घोषणापछि पहिलो पटक राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको छ। ‘गणतन्त्र घोषणाको ८ वर्षपछि ज्ञानेन्द्रले पहिलो पटक शीतलनिवास प्रवेश गर्नुभएको हो। राष्ट्रपति आफैंले निम्ता गरेपछि ज्ञानेन्द्रले सहजै स्वीकार गरेको निर्मलनिवास स्रोतले बताएको छ।’

राष्ट्रियता, समन्वय र समावेशी अवधारणालाई उचाइमा पुर्याउनुपर्ने वर्तमान अवस्थामा निशाकुसुमको भूमिका ऐतिहासिक नायिका भृकृटीसँग मिल्न खोज्छ। लिच्छवि राजा अंशुवर्माकी छोरी राजकुमारी भृकुटीको विवाह भाषा, संस्कार र सभ्यता केही पनि नमिल्ने परिवार, चिनियाँ शासक श्रङ्चङ्गम्पोसँग भयो। राजनीतिक सन्तुलन मिलाउन उनले एकप्रकारले व्यक्तिगत जीवनको खुशी मुलुकका लागि समर्पित गरिन्। त्यसैले उनलाई राष्ट्रिय विभूतिको सम्मान दिइएको छ। तिब्बतसँग नेपालको बलियो सम्बन्ध बनाउन अंशुवर्माले छोरीको जीवन दाउमा लगाउनु कति ठीक थियो भनेर विवाद गरिए पनि निशाकुसुमको प्रेमविवाह भएकाले विद्या भण्डारीलाई त्यस प्रकारको आरोप लाग्ने अवस्था छैन। यस विवाहले सबैतिर सुखद सन्देश मात्र सञ्चार गरेको छ।

प्रतिक्रिया दिनुहोस्