ट्रम्पको विरोधमा लन्डनमा विशाल प्रदर्शन



लन्डन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिन उनको विरोधमा विशाल प्रदर्शनहरू भए। ती प्रदर्शनमा महिलाहरूको ठूलो सहभागिता रह्यो।

वासिङ्टनमा ट्रम्पविरुद्ध आयोजित ‘विमेन्स मार्च अन वासिङ्टन’को समर्थनमा लन्डनमा महिलाहरूले ट्रेफलगार स्क्वायरदेखि अमेरिकी दूतावाससम्म मार्च निकाले। उक्त र्यालीमा लन्डनका मेयर सादिक खान पनि सहभागी भएको जनाइएको छ। र्यालीलाई टिभी कार्यक्रम प्रस्तोता सेन्डी टोक्सविग र लेबोर सांसद वाय कुपरले सम्बोधन गरेका थिए।

आयोजकहरूले उक्त प्रदर्शन कार्यक्रमबाट महिलाको अधिकारलाई रेखांकित गरेको बताए। ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि महिला अधिकार र सुरक्षा खतरामा परेको उनीहरूको धारणा रहेको छ।
लन्डनमा जुलुसको आयोजकहरूले उक्त र्यालीमा करिब १ लाख नागरिकले भाग लिएको र त्यसमा महिला तथा पुरुष दुवै भएको दाबी गरेका छन्।

यद्यपि प्रदर्शनकारीहरूको संख्याका विषयमा प्रहरीले कुनै अनुमान गरेको छैन। शनिबार अस्ट्रेलियाको प्रमुख शहर सिड्नीमा पनि करिब ३ हजारभन्दा धेरैले ट्रम्पको विरोधमा प्रदर्शन गरेका थिए। त्यसै गरी जापान र न्युजिल्यान्डमा पनि ट्रम्प विरोधी महिला र्यालीको आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्