सोलोमोन द्विप र पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प



वेलिङ्टन, (एजेन्सी)
अस्ट्रेलियाबाट उत्तरपूर्वमा पर्ने सोलोमोन द्विपमा स्थानीय समयानुसार आइतबार अपराह्न साढे बाह्र बजे ७ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको चिनियाँ भूकम्प सञ्जाल केन्द्र (सीईएनसी)ले जनाएको छ। यस भूकम्पको केन्द्रबिन्दु द्विप समूहको आसपास इलाकाको समुद्रमुन्तिर १ सय ६० किलोमिटर गहिराइमा रहेको बताइएको छ।

त्यसै गरी अस्ट्रेलियाबाट सीधा उत्तरमा पर्ने पपुवा न्युगिनीमा पनि आइतबार नै ८ रिक्टर स्केलको भूकम्प गएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। यस भूकम्पपछि विशाल सुनामी आउन सक्ने चेतावनी दिइएको प्रशान्तमहासागरीय सुनामी चेतावनी केन्द्रले जनाएको छ।

पपुवा न्युगिनीमा गएको भूकम्पको केन्द्रविन्दु भने आरावानजिकै दक्षिणी प्रशान्त महासागरीय इलाकाको समुद्रको १ सय ६७ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ। दक्षिण–पश्चिमी प्रशान्त महासागरमा अवस्थित मेलानेसिया महाक्षेत्रभित्र रहेका यी दुवै देशमा गएको भूकम्पबाट मानवीय र भौतिक सम्पत्ति क्षति भए नभएको कुनै औपचारिक खबर प्राप्त भइनसकेको बताइएको छ।

तर अमेरिकी भौगर्भिक सर्वेक्षण सस्था (यूएसजीएस)ले भने दुवै देशमा गएका भूकम्पको मापन ८ दशमलव २ रिक्टर स्केलको भएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्