तयार हुँदै १२ नमुना विद्यालय



दोलखाको भुसाफेदामा स्थानीयवासीहरू आफ्नै सक्रियतामा स्थानीय नवीन माध्यमिक विद्यालयको नयाँ भवन निर्माणमा जुटेका छन्। भूकम्पले विद्यालय भवन क्षतिग्रस्त भएपछि नयाँ भवन बनाउने योजना भइरह‘दा कृषिमा निर्भर १० जना स्थानीयबासीको तर्फबाट झन्डै १२ रोपनी जग्गा प्राप्त गरेपश्चात् विद्यालय व्यवस्थापन समितिको योजनाले मूर्तरूप पाएको छ । अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापारसम्बन्धी विभाग (डिफ्क्याट) र प्लान इन्टरनेसनलको सहयोगमा अहिले १२ वटा कक्षाकोठासहित उक्त विद्यालयको नयाँ भवन निर्माणले गति पाएको छ। विद्यालयका प्रधानाध्यापक तीर्थबहादुर श्रेष्ठ भन्छन्– ‘भूकम्पपछि भवन क्षतिग्रस्त हुँदा व्यवस्थापन समिति, अभिभावक र विद्यार्थीमा सुरक्षित भवन नबन्ने चिन्ता थियो, तर प्लान इन्टरनेसनल नेपालले २ करोड २३ लाख रुपियाँभन्दा बढी आर्थिक सहयोग दिएपछि भवन निर्माण भइरहेको छ।’

श्रेष्ठका अनुसार, नयाँ भवनका लागि पर्याप्त जग्गा नहुँदा विद्यालय निर्माण शुरू गर्न कठिन थियो, तर स्थानीयबासी आफ्नो सन्तानको भविष्यका लागि विद्यालय बनाउन जग्गा दिन तयार भएपछि काम शुरू भएको हो। जग्गा दातामध्येका एक डम्बरबहादुर मगर भन्छन्– ‘गाउँको स्कुल भूकम्पले क्षतिग्रस्त भएपछि केटाकेटीले पढ्न नपाउने हो कि भन्ने चिन्ता थियो तर प्लानले आर्थिक सहयोग गर्ने भएपछि हामीले जग्गा दिएका हौं।’ विद्यालयमा कक्षाकोठाबाहेक शौचालय, खेल मैदान, खानेपानी र फर्निचरसहितका लागि प्लान इन्टरनेसनल नेपालले सहयोग गरेको छ।

सबैका लागि सुरक्षित विद्यालय भन्ने अवधारणासहितको यो परियोजनामा नवीन माध्यमिक विद्यालय मात्र नभई भूकम्प प्रभावित सिन्धुपाल्चोक, सिन्धुली, काठमाडौं, ललितपुर, मकवानपुर जिल्लामा १२ वटा नमुना विद्यालय भवन निर्माण भइरहेको छ। परियोजनाअन्तर्गत दोलखाको भीमेश्वर बहिरा प्रावि र सित्का मावि, सिन्धुपाल्चोकको इन्द्रेश्वरी उच्चमावि, सिपा तीनधारा मावि र हीरादेवी निमावि, मकवानपुरको शान्ति बहिरा तथा सुस्तश्रवण विद्यालय र गीताबोरा निमावि, सिन्धुलीको नवज्योति निमावि र गौरीशंकर उच्चमावि तथा काठमाडौंको गोकर्ण मावि र ललितपुरको मगरगाउँ उच्च माविको भवन निर्माण भइरहेको हो।

आगामी नयाँ शैक्षिक सत्रभित्र विद्यालय भवन निर्माण भएपछि झन्डै ३ हजार २ सय विद्यार्थीले भूकम्प प्रतिरोधी कक्षाकोठा प्राप्त गर्ने बताइएको छ। अपांगता भएका विद्यार्थी मैत्री हुने गरी विद्यालयका भवन र शौचालय निर्माण हुने प्लान इन्टरनेसनल नेपालले जनाएको छ। विद्यालय भवन निर्माणका लागि प्लानले शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा विभागसँगको समन्वय गरिरहेको परियोजनाका सिनियर प्रोग्राम म्यान्जेर राजकुमार त्रिखत्रीले जानकारी दिनुभयो। भूकम्प प्रविधि समाज नेपाल एनसेटको प्राविधिक सहयोग तथा सम्बन्धित विद्यालय व्यवस्थापन समिति साझेदारीमा परियोजना सञ्चालन भएको हो। परियोजनाअन्तर्गत कामदारहरूलाई सुरक्षित अर्थात् भूकम्प प्रतिरोधी भवन निर्माणको तालिम प्रदान गर्नुका साथै शिक्षकलाई अपांगता भएका बालबालिकाको समावेशी शिक्षासम्बन्धी तालिम दिइनेछ।

प्रतिक्रिया दिनुहोस्