कुशल चालक बिदेसिए, ट्रिपर चालक अभाव



नेपाल समाचारपत्र
काभ्रे
विकास तथा निर्माण क्षेत्रका लागि अत्यावश्यक बन्दै गएका ट्रिपरहरूका लागि दक्ष जनशक्तिको अभाव बन्दै गएको छ। बर्सेनि २ सयभन्दा धेरै ट्रिपर आयात हुने गरे पनि दक्ष चालक नहुँदा दुर्घटना निम्तिदै गएको व्यवसायीले बताएका छन्।  बागमती ट्रिपर व्यवसायी संघको छैटौं वार्षिक साधारणसभामा सहभागी व्यवसायीले ट्रिपर थपिए पनि चालकहरू नहुँदा समस्या बन्दै गएको बताए।

सयवटा ट्रिपरबाट शुरू भएको संघमा अहिले ५ सय ट्रिपर दर्ता भइसकेको संस्थापक अध्यक्ष राजभक्त प्रधानले बताए। दुर्घटना न्यूनीकरणका लागि पटकपटक चालकलाई प्रशिक्षण, समय कार्ड तथा तालिम प्रदान गरिएको भए पनि अस्वस्थ प्रतिस्पर्धा, अनुभवी चालकको अभावका कारण समयसमयमा ट्रिपरकै कारण दुर्घटना हुने गरेको छ।

ट्रिपरका कारण जिल्लामा १ हजारभन्दा धेरै व्यक्तिले रोजगारी पाएको संस्थापक अध्यक्ष प्रधानले जानकारी दिए। ५ सयवटा ट्रिपरमा चालक र सहचालक मात्रै १ हजार छन्। उनीहरूबाट आश्रित परिवार र आफन्तसमेत गरी ट्रिपरका कारण बढेको रोजगारीलाई राज्यले खासै महत्त्व नदिएको व्यवसायीको गुनासो रहेको छ। ‘चालक नै छैनन्, कुशल चालक बिदेसिएका छन्, ट्रिपर आउनेबितिक्कै नाफा हुन्छ भन्ने व्यवसायीको भ्रम रहेको छ’ –काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष राजेशसुन्दर सैंजुले बताए। ट्रिपरले सहजतासँगै समस्या थपिदिएको पनि व्यवसायीको गुनासो रहेको छ।

व्यवसायीले ट्रिपरका कारण सर्वसाधारण तथा अन्य सवारीसाधन आवागमनमा अवरोध भएको गुनासो आए सँगै मिल्न सक्ने र हुन सक्ने गरी वैकल्पिक राजमार्ग बनाउन पहल गर्न समेत माग गरेका छन्। पनौतीबाट आउने दैनिक ३ सयभन्दा धेरै ट्रिपरका कारण सडक बिग्रिएको र अवरोध भएकाले पुण्यमाता करिडोरलाई चालू गर्न सम्बन्धित निकायमा पहल गर्न व्यवसायीले नेतृत्वलाई सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्