कुशल चालक विदेशिए, टिपर चालक अभाव



(मोतीराम तिमल्सिना)/ काभ्रे, ९ माघ ।

विकास तथा निर्माण क्षेत्रका लागि अत्यावश्यक बन्दै गएका टिपरहरुका लागि दक्ष जनशक्तिको अभाव बन्दै गएको छ । बर्षैनि २ सय भन्दा धेरै टिपरहरु आयात हुने गरे पनि दक्ष चालक नहुँदा दुर्घटना निम्तिदै गएको ब्यवसायीहरुले बताएका छन् ।

वाग्मती टिपर ब्यवसायी संघको छैटौ बार्षिक साधारण सभामा सहभागि ब्यवसायीहरुले टिपर थपिए पनि चालकहरु नहुँदा समस्या बन्दै गएको बताए । १ सय वटा टिपरबाट शुरु भएको संघमा अहिले ५ सय वटा टिपर दर्ता भईसकेको संस्थापक अध्यक्ष राजभक्त प्रधानले बताए । दुर्घटना न्युनिकरणका लागि पटक पटक चालकहरुलाई प्रशिक्षण, समय कार्ड तथा तालिम प्रदान गरिएको भए पनि अस्वस्थ प्रतिस्पर्धा, अनुभवी चालकहरुको अभावका कारण समय समयमा टिपरकै कारण दुर्घटना हुने गरेको छ ।

टिपरका कारण जिल्लामा एक हजार भन्दा धेरै ब्यक्तिहरुले रोजगारी पाएको संस्थापक अध्यक्ष प्रधानले जानकारी दिए । पाँच सय वटा टिपरमा चालक र सह चालक मात्रै एक हजार छन् । उनिहरुबाट आश्रित परिवार र आफन्तहरु समेत गरी टिपरका कारण बढेको रोजगराीलाई राज्यले खासै महत्व नदिएको ब्यसायीहरुको गुनासो रहेको छ । ‘चालक नै छैनन, कुशल चालक विदेशिएका छन्, टिपर आउने वितिक्कै नाफा हुन्छ भन्ने ब्यवसायीको भ्रम रहेको छ’– काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष राजेशसुन्दर सैंजुले बताए । टिपरले सहजतासँगै समस्या थपिदिएको पनि ब्यवसायीको गुनासो रहेको छ ।

ब्यवसायीहरुले टिपरका कारण सर्वसाधारण तथा अन्य सवारी साधन आवागमनमा अवरोध भएको गुनासो आए सँगै मिल्न सक्ने र हुन सक्ने गरी बैकल्पिक राजमार्ग बनाउन पहल गर्न समेत माग गरेका छन् । पनौतीबाट आउने दैनिक ३ सय भन्दा धेरै टिपरहरुका कारण सडक विग्रिएको र अवरोध भएकाले पुण्यमाता करिडोरलाई चालु गर्न सम्वन्धित निकायमा पहल गर्न ब्यवसायीहरुले नेतृत्वलाई सुझाव दिए । केहि ब्यवसायीहरुले २० वर्षे अवधीका सवारी साधन हटाउने सरकारी निर्णयको विरोध समेत गरे । ब्यवसायीहरुलाई कर छुटमा त्यस्ता साधनहरु हटाउन सहयोग गर्नु पर्ने उनिहरुको माग छ ।

ब्यवसायीहरुको अधिबेशनबाट बाग्मती टिपर ब्यवसायी संघमा शेरबहादुर कुँवरको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष प्रेम लामा, सचिव नरेन्द्र बादे, कोषाध्यक्ष ठाकुर गौतम, सह सचिव पदमकेस श्रेष्ठ रहेका छन् । सदस्यहरुमा नारायण कृष्ण श्रेष्ठ, राजेश खत्री, विमलकुमार श्रेष्ठ, निर्मल श्रेष्ठ र राजन पौड्याल रहेका छन् ।

साधारण सभाको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका प्रमुख सल्लाहकार तथा यातायात विज्ञ योगेन्द्रनाथ कर्माचार्यले उद्घाटन गरेका थिए । काभ्रेपलाञ्चोक जिल्लामा टिपरको शुरुवाती र ब्यवसायीकरण ब्यवसायी राजभक्त प्रधानले गरेका थिए । उनकै कार्यकालमा ब्यवसायीहरुका हकहितका लागि सांगठनिक तथा अन्य क्षेत्रमा सुधार र एकिकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्