गुड्ला त पूर्व–पश्चिम रेल ?



दीपेन्द्र थापा, काठमाडौं

भारतले नेपालको सिमा नाकानजिक ६ वटा क्रसबोर्डर रेलमार्ग निर्माण गरिरहेका बेला भारतका रेलमन्त्री सुरेश प्रभुले भारतले छिमेकी मुलुकहरु नेपाल, बंगलादेश, भुटान र म्यानमार जोड्ने रेल्वे सेवा शुरू गर्न लागेको बताएका छन् । यसका लागि भारतको रेल्वे र युनेस्कोबीच सम्झौता भइसकेको भारतीय समाचार संस्था इकोनोमिक टाइम्सको समाचारमा उल्लेख छ ।

भारतको योजना रेल विस्तार गर्दै छिमेकी देशसँग रेलमार्फत् व्यापार विस्तार गर्ने र उत्तर पूर्वका ८ प्रदेशको राजधानीलाई रेल मार्गले जोड्ने रहेको छ । ‘हाम्रा छिमेकी मुलुकहरू नेपाल, भुटान, म्यानमार र बंगलादेशसँग सौहार्दपूर्ण सम्बन्ध छ । रेल्वेमार्फत यस सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने छौं उनले भनेका छन् । रेल सेवाले छिमेकी देशसँगको अन्तत्र्रिmया, पर्यटन, व्यापार, रोजगारी तथा सम्बन्ध अझ बढाउने विश्वास आफूले लिएको उनले बताएका छन् । प्रभुको भनाइ छ–‘रेल सम्बध विस्तार भएपछि हस्तकला, फलफूल र फूलको व्यापार बढाउँछ ।’ यसका लागि झण्डै साढे ५ लाख करोड रुपियाँ लगानी रेलवमा बढाउने प्रभुको भनाइ छ ।

भारतले क्रस बोर्डर रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, जोगबनी–विराटनगर जयनगर–जनकपुर, भैरहवा–नौतुनहवा, नेपालगन्ज–रुपैडिया र वीरगन्ज–रक्सौलमा रेलमार्गको काम गरिरहेको छ । यीमध्ये वीरगन्ज–रक्सौल रेलमार्गको काम भइसकेको छ । नेपालतर्फ जोगवनी–विराटनगर र जयनगर–जनकपुर–बर्दिबासको काम भइरहेको छ । यी सबै रेलमार्ग भारतले आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा बनाइदिन लागेको हो ।

नेपालको रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायले नेपाल समाचारपत्रसँग कुरा गदै भन्नुभयो–‘भारतले बनाइदिने रेलमार्गमा आर्थिक अभावको कुरा भएन । हामी आफूले नै बनाउने रेलमार्गका लागि भने बजेट आफैंले जुटाउनुपर्ने छ ।’ सरकारको इच्छाशक्ति भएमा १० वर्षमा पूर्व–पश्चिम रेलमार्गले नेपाललाई जोड्न सकिने विभागको दाबी छ । नेपालले मेची–महाकाली रेलमार्ग विस्तार गर्ने उद्धेश्यले तीव्र गतिमा काम गरिरहेको छ । सरकारले अहिले मेची–महाकाली विद्युतीय रेलमार्गको काम गरिरहेको छ । जसमध्ये २५ प्रतिशत काम सकिएको जनाएको छ । रेल विभागले ९४५ किलोमिटर मेची–महाकाली रेलमार्गको योजना बनाएको हो । रेल विभागका अनुसार ९४५ किलोमिटरको विद्युतीय पूर्व–पश्चिम रेलमार्गमा रेल चलाउन ३० मेगावाट बिजुलीको आवश्यकता पर्नेछ। हाल सरकारले २०० किलोमिटर प्रतिघण्टाका दरले चल्ने रेलमार्ग बनाउने तयारीमा छ ।

रेल विभागका प्रवक्ताका अनुासर सबै काम सकिएको छ । ‘पहिलेको जयगर–जनकपुर लिक सानो भएकाले त्यसलाई भत्काएर नयाँ बनाउने काम गरिरहेका छौं ।’ देशमा राजनीति स्थायित्व भए र सहज रुपमा निर्माण सामग्रीको आपूर्ति भयो भने तोकिएको समयमानै काम पूरा हुने प्रवक्ता उपाध्यायको भनाइ छ। उहाँले काम गर्ने वातावरण भयो र कुनै बाधा अड्चन आएन भने २०७४ सालको अन्त्यसम्ममा नेपालमा रेल गुड्ने बताउनुभयो ।

पूर्वतर्फ बर्दिबास–इनरुवा र इनरुवा–काँकडभिट्टा रेलमार्गको सर्भे भइरहेको रेल विभागले जनाएको छ । पश्चिमतर्फ भने बुटवल–लमही र लमही–कोहलपुर–सुख्खड र सुख्खड–बनबासासम्मको चारवटा खण्डमा डिजाइन तयार गर्ने र कन्सल्ट्यान्ट हायर गर्ने काम भइरहेको छ । उपाध्यायका अनुसार प्रपोजल प्रस्ताव विभागमा आइसकेको छ । त्यसको मूल्यांकन गर्ने काम भइरहेको विभागले जनाएको छ ।

अहिलेकै अवस्थामा काम भइरहयो भने २०७४ सालको अन्त्यसम्ममा नेपालमा रेल गुडाउने गरी सरकारले काम अघि बढाएको छ । रेल विभागका अनुसार पहिलो चरणमा जयनगर–जनकपुर–बर्दिबास खण्डमा २०७४ को अन्त्यसम्ममा रेल गुड्नेछ । जयनगर–जनकपुर–बर्दिबास खण्ड ७० किलोमिटर लामो रहेको छ । जसका लागि भारतले लगानी गर्ने छ । बन्द–हड्ताल नभए, स्थानीयको अवरोध झेल्नु नपरे र निर्माण सामग्रीको अभाव नभए सो खण्डमा अर्को वर्षको अन्त्यसम्ममा रेलमार्ग निर्माण सम्पन्न हुने रेल विभागको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्