भारतबाट आयात १०५ प्रतिशत



नेपाल समाचारपत्र
काठमाडौं
आर्थिक वर्ष २०७३⁄७४ को पहिलो पाँच महिनासम्ममा कुल वस्तु निर्यात १७ दशमलव १ प्रतिशतले वृद्धि भई ३० अर्ब ६३ करोड रुपियाँ पुगेको छ । यो निर्यात आर्थिक वर्ष २०७१⁄७२ को सोही अवधिको तुलनामा कम रहेको नेपाल राष्ट्र बैंकले जनाएके छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चीनतर्फको निर्यात अघिल्लो वर्षको ६६ दशमलव ३ प्रतिशतको ह्रासको विपरीत समीक्षा अवधिमा ५५ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । तथापि चीनतर्फको निर्यातको आधार भने सानो रहेको छ । समीक्षा अवधिमा भारततर्फको निर्यात २२ दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भारततर्फको निर्यात ३९ दशमलव २ प्रतिशतले घटेको थियो । अन्य मुलुकतर्फको निर्यात अघिल्लो वर्ष ६ दशमलव ९ प्रतिशतले घटेकोमा समीक्षा अवधिमा ८ दशमलव ९ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा जुस, जुटका सामान, खोटोलगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोशाक, ऊनी गलैंचालगायतका
वस्तुहरुको निर्यात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात ७८ दशमलव ९ प्रतिशतले बढेर ३८२ अर्ब ६४ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२ प्रतिशतले घटेको थियो ।

देशगत आधारमा भारतबाट भएको आयात १०५ दशमलव ८ प्रतिशत, चीनबाट भएको आयात ४३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ४३ दशमलव ८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपूर्जा, पेट्रोलियम पदार्थ, मेसिनरी तथा पार्टपूर्जा, निर्माण सामग्रीलगायतका वस्तुको आयात बढेको छ भने कोल्डरोल सिट इन क्वाइल, हवाईजहाजका पार्टपूर्जालगायतका वस्तुको आयात घटेको छ ।

प्रतिक्रिया दिनुहोस्