धुर्मुस—सुन्तलीले थालेको मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा



धुर्मुस– सुन्तली परियोजनाले महोत्तरीको बर्दिवास नगरपालिका–२मा एकिकृत नमुना मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा गर्दै । तस्वीर ः धनवीर महतो, महोत्तरी, रासस

महोत्तरी, ८ माघ । कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस– सुन्तलीले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ ।

बाह्र दिनमा १५ प्रतिशत काम सम्पन्न भएको छ । पुस २५ गते मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गङ्गासागर पोखरी (जनकपुर)का सरसफाइ अभियन्ता रामअशिष यादवले शिलान्यास गर्नु भएको बस्तीको निर्माणकार्यमा झन्डै तीन सय कामदार दैनिक खटिएका छन् ।

हालसम्ममा बस्तीमा निर्माण हुने ५० वटा घरमध्ये ४० वटा घरको जग खनिसकिएको छ । ३२ वटा घरको जग उठाउने कार्यसम्पन्न भइसकेको छ । पिलिन्थ लेवलसम्मको पाँचवटा घरको निर्माणकार्य सकिएको धर्मुस– सुन्तली परियोजनाका संयोजक अर्जुनप्रसाद न्यौपानेले बताउनुभयो । श्रमदान र आर्थिक सहयोगको लागि उत्साहित युवा पुस्ता, सङ्घ संस्थाका पदाधिकारी आउने क्रम जारी छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीलेसमेत श्रमदान र सुरक्षा दिने गरेका छन् ।

बर्सौंदेखि रोग, भोक, अशिक्षा, अनिद्रा र विकासबाट वहिष्करणमा परेका मुसहरको आफ्नो घर बन्न लागेपछि उत्साहित देखिएका उनीहरु दिनहुँ झन्डै एक सय मुसहर श्रमदानमा खटिएका एकिकृत नमुना मुसहर बस्तीका उपभोक्ता समितिका अध्यक्ष मञ्जय सदा मुसहरले बताउनुभयो ।

‘दाउरा लिन जाने काम छाडेर हुलका हुल गाउँले बस्ती निर्माणमा श्रमदान गरिरहेका छन्,’ उहाँले भन्नुभयो, “कोही सिमेन्ट घोल्छ । कोही बालुवा, ढुङ्गा, गिट्टी ओसारछन् । कोही गाउँलाई काममा खटाउँछन् यी र यस्ता कार्य गरेर हामी बस्ती निर्माण श्रमदान गरिरहेका छौंँ ।”

‘मुसहरहरुले आफूहरुको जीवन फेरिन्छ भनेर सपना पनि देखेका थिएनन् । तर, धर्मुस र सुन्तली जस्ता मायालु मनको सहयोग पाएर मुसहर फुरुङ्ग छन्,’ सामाजिक अभियन्ता आरके महतोले भन्नुभयो,‘कोही बाढीपीडित, त कोही भूकम्पपीडित, त कोही आगलागीपीडित सबै पीडितैले राहत र सहयोग पाइरहेका छन् । तर, मुसहरको जन्मिने सन्तान जन्मिने वित्तिकै पीडित भएरै जन्मिन्छ । उनीहरुको पीडा कसैले सुन्दैनन् बरु हेला गर्छ । मुसहरको लागि धुर्मुस र सुन्तली भगवान भएर मुसहर बस्तीमा पसें । सहयोगी हात भेटिएर बर्दिवासका मुसहरको पुस्तौँंपछि उद्धार र राहत मिल्दैछ । ओत लाग्ने घर बन्दै छ । बच्चा स्कुल जाँदैछन् ।’ दैनिक मालिकको जी हजुरी गरेर शोषण, दमन, अन्याय, अत्याचार सहन बाध्य मुसहर त्यो जालबाट सहयोगी हातको सहारामा क्रमशः बाहिर निस्किएर आफ्नो भविष्य खोजिरहेका सामाजिक अभियन्ता महतोले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्