गाम्वियामा जम्मेहलाई पद त्याग्न अल्टिमेटम



डाकार (एजेन्सी)
गाम्बियाको राष्ट्रपतिय निर्वाचनमा पराजित भएर पनि पद नछोडेका याहया जम्मेहलाई पश्चिम अफ्रिकी क्षेत्रीय आर्थिक समूह इकोवासले शान्तिपूर्ण रुपले पद त्याग गर्न शुक्रवार अन्तिम चेतावनी दिएको छ ।

चुनावमा पराजित भएर पनि जम्मेहले पद नत्यागेपछि इकोवासले हिजो सम्ममा पद त्याग्न अल्टिमेटम दिएको हो ।

गत महिनाको राष्ट्रपतीय निर्वाचनमा विजयी भएका अदाम बर्रोले आफ्नै देशमा शपथ लिन नपाएपछि बिहीबार सेनेगलको राजधानी डाकारस्थित गाम्बियाको दूतावासमा पदिय शपथ लिएका थिए ।

शपथ लिएपछि इकोवासका पदाधिकारीले गाम्बियाको अहिलेको आधिकारिक राष्ट्रप्रमुख बर्रो नै भएको दाबी गरेका छन् । गाम्बियाको तेस्रो राष्ट्रप्रमुखका रुपमा तिनीहरुले बर्रोलाई घोषणा गरेका छन् ।

गिनीका राष्ट्रपति अल्फा कोन्डे र मौरिटानियाका राष्ट्रपति मोहमद उल्ड अब्देल अजिज जम्मेहसंग वार्ता गर्न बान्जुल आइपुगेका छन् । इकोवास आयोगका अध्यक्ष मार्सेल डि सुजाले यदि कोन्डेसंगको वार्ता असफल भएको खण्डमा सैनिक कारवाही शुरु गरिने बताएका छन् ।

शपथ लिएपछि पहिलोपटक राष्ट्रपतिका रुपमा सम्बोधन गर्दै बर्रोले आफूलाई निर्वाचित गरेकामा जनतालाई धन्यवाद दिँदैे राष्ट्रिय एकताका लागि आह्वान गरेका छन् ।

उनले जम्मेहलाई जनमत र संविधानको सम्मान गर्न र अशान्तिको बीउ नरोप्न पनि आग्रह गरेका छन् ।

इकोवासले जम्मेहले तोकिएको समयभित्र पद छाड्न नमाने बल प्रयोग गरेर पनि हटाउने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले इकोवासलाई आफ्नो समर्थन दिए पनि पहिला राजनीतिक समाधानकै प्रयास हुनुपर्नेमा जोड दिएको छ ।

पश्चिमी अफ्रिकी मुलुक गाम्बियामा विगत २२ वर्षदेखि लगातार शासन गर्दै आएका जम्मेहले पराजय नस्वीकार्दा राजनीतिक संकटको स्थिती सिर्जना भएको हो ।

प्रतिक्रिया दिनुहोस्