मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक मर्ज हुने



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल राष्ट्र बैंकद्वारा तोकिएको पुँजी पुर्याउनका निम्ति मेगा बैंक नेपाल र टुरिजम डेभलपमेन्ट बैंक एक आपसमा गाभिने (मर्ज हुने) भएका छन्। दुवै बैंकबीच बिहीबार मर्जरको सैद्धान्तिक सहमति भएको छ।

मर्जको सैद्धान्तिक सहमतिपत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र टुरिजम डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले सञ्चालक समितिको सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। मर्जरका लागि लामो छलफलपश्चात बिहीबार औपचारिक रूपमा सम्झौता भएको हो। मर्जर सम्झौतासँगै शेयर आदानप्रदान अनुपात अर्थात स्वाप रेसियो पनि टुंगो लागेको छ।

मर्जरपश्चात् बैंकको नाम मेगा बैंक नेपाल तथा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत मेगा बैंककै रहने सहमति भएको स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ। बैंकका अन्य सञ्चालक, कर्मचारीको व्यवस्थापनको टुंगो भने अझै लागेको छैन।

त्यस्तै शेयर स्वाप रेसियो मेगा बैंकको सय बराबर टुरिजम डेभलपमेन्ट बैंकको ९५ हुनेछ। यद्यपि, अन्तिम शेयर आदानप्रदान अनुपात दुवै संस्थाको सम्पत्ति र दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदनको आधारमा फरक पर्न सक्ने बताइएको छ। मर्जरको सम्झौतापश्चात शेयर कारोबार रोक्का गर्नका निम्ति दुवै बैंकले नेपाल स्टक एक्सचेन्जमा आवेदन दिएको बताइएको छ।

मेगा बैंकको चुक्ता पँुजी ४ अर्ब १ करोड रुपियाँ रहेको छ। पश्चिामाञ्चल फाइनान्सलाई गाभेपछि मेगााले २५ प्रतिशत हकप्रद तथा १३ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गरेको छ भने पुनः ६५ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको छ। बैंकको १ एक्सटेन्सन काउन्टरसहित ४० शाखा र ४७ वटा एटीएम रहेका छन्।

यसैगरी टुरिजम डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ९१ करोड ९७ लाख रुपियाँ रहेको छ। मातृभूमि विकास बैंक तथा कालिञ्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको बैंकले पुस २४ गतेदेखि एकीकृत कारोबार सञ्चालन गरेको थियो। १८ दशमलव छ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद जारी गरेर मात्र मर्जर अघि बढाउने बताइएको छ। बैंकको १ एक्सटेन्सन काउन्टरसहित शाखा संख्या २३ तथा १२ वटा एटीएम छन्। मेगा बैंकले बोनस तथा ६५ प्रतिशत हकप्रद शेयर निष्काशनपश्चात मर्जर अघि चुक्रा पुँजी ७ अर्ब ५७ करोड रुपियाँ पुग्नेछ। त्यस्तै टुरिजम डेभलमेन्टको पनि मर्जर अघि चुक्ता पुँजी २ अर्ब १८ करोड रुपियाँको हाराहारीमा पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्