महन्थका महामन्त्रीमा सम्धी



काठमाडौं, (नेस)
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना सम्धी उमाकान्त झालाई पार्टीको महामन्त्री बनाउनुभएको छ। यसअघि ठाकुरले आफ्नी सम्धिनी इन्दिरा झालाई सांसद बनाइसक्नुभएको छ। ठाकुरले शुक्रबार पूर्वमन्त्रीसमेत रहेका आफ्ना सम्धी झालाई महामन्त्री बनाउनुभएको हो। ठाकुरकी एक मात्र छोरी डा. मिनाक्षी झाको विवाह उमाकान्त झा र इन्दिरा झाको छोरासँग केही वर्षअघि मात्र भएको थियो।

उमाकान्त झासहित ठाकुरले शुक्रबार सात जनालाई विभिन्न पदाधिकारीमा चयन गर्नुभएको छ। महामन्त्रीमा झासहित डा. विजय सिंह, चन्दा चौधरी, जितेन्द्र सिंह चयन हुनुभएको छ भने डा. सुरेन्द्र झा, समिम मियाँ अन्सारी र रामप्रवेश बैठक सहमहामन्त्री हुनुभएको छ।

उहाँहरू सबै केन्द्रीय सदस्य हुनुहुन्थ्यो। अब पार्टीमा सातजना महामन्त्री र छ जना सहमहामन्त्री भएका छन्। यसअघि वृजेश गुप्ता र जंगीलाल राय यादवलाई महासचिव बनाइएको थियो। दोस्रो पटक विस्तार हुँदा मात्र जितेन्द्र सोनललाई महामन्त्री बनाइएको थियो। सोनल पार्टीको महाधिवेशनअघि पनि महामन्त्री हुनुहुन्थ्यो। तर महाधिवेशनमा चुनावमा जानुपर्ने अडान लिएपछि उहाँलाई महामन्त्री हुनबाट रोकिएको थियो। पछि पुनः उहाँलाई महामन्त्री बनाइयो। यसअघि पार्टीमा तीनजना सहमहामन्त्रीमा जयप्रकाश ठाकुर, पशुपति मिश्र र राकेश मिश्र हुनुहुन्थ्यो भने अब छ जना सहमहामन्त्री हुनुभएको छ।

तमलोपाकै केन्द्रीय सदस्य सुरेश मण्डलले उच्च जाति (बाहुन) हरूको पार्टी भयो भनेर असन्तुष्टि जनाउनुभएको छ। पार्टीलाई गतिशील बनाउन विभिन्न जात–जाति समुदाय वर्गलाई पार्टीमा सहभागी गराउनका लागि विधानको धारा २६ (क) ३ अनुसार उनीहरूलाई पदाधिकारीमा ल्याएको तमलोपाका अध्यक्ष महन्थ ठाकुरद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्