प्रहरीभन्दा तस्कर चलाख



नेपाल समाचारपत्र
हेटौंडा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय २५ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ। गाँजाका मुख्य व्यापारी नै पक्राउ गर्ने प्रहरीको योजना भने पूरा हुन पाएन।

प्रहरीले गाँजा बरामद भएपछि मुख्य व्यापारीलाई पक्रन १ लाख रुपियाँमा ‘कुरा मिलाएको’ नाटक गरेको थियो। तर, मुख्य व्यापारी भने प्रहरीभन्दा चलाख निस्किए। ती व्यक्तिले आफू नआई ‘सवारी दुर्घटना भएको’ निहुँ पारेर अर्कै व्यक्तिलाई १ लाख रुपियाँ पठाएका कारण मुख्य व्यक्ति पक्राउ गर्न सकिएन। १ लाख रुपियाँ ल्याउने व्यक्ति आफूहरूको नियन्त्रणमा रहेको प्रहरी प्रमुख प्रउ वसन्तकुमार लामाले बताए।

मनहरीबाट वीरगन्ज जाँदै गरेको एचआरसी ८०३७ नम्बर भारतीय एलपी ग्यास बुलेटमा लुकाइएको गाँजा प्रहरीले विशेष सुराकीका आधारमा बरामद गरेको हो। सोमबार बिहान करिब ३ बजे हेटौंडा–१७, रातमाटेबाट गाँजासहित बुलेटचालक भारत मुजफ्फरपुरका करिब ३० वर्षीय राजेशप्रसाद कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी लामाले बताए।

पक्राउ परेका चालकले मकवानपुरको मनहरिबाट बाराको जितपुरसम्म यसअघि ६ पटक एक ट्रिपको ४० हजारका दरले लिएर गाँजा पास गरेको बताएको प्रहरीले जनाएको छ। बुलेटमा १३ प्याकेटमा गाँजा लुकाई ल्याइएको प्रहरीले जनाएको छ। ६ पटक गाँजा पास गराउन सफल बुलेटलाई प्रहरीले सुराकीका आधारमा सातौंपटकमा नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस्