बृद्ध बालक, २८ र ८२



विद्यार्थी नेताहरुले स्ववियु निर्वाचनमा भाग लिनका लागि उमेरको हद तोकिएको विषयलाई अहिले विरोध गरेको धरहराले पनि देखेको छ । कुरा के परेछ भने २८ वर्ष भन्दा बढी उमेर भएकालाई चुनावमा भाग लिन नदिने तयारी भएपछि बिचरा ‘बृद्ध बालक’हरु तातिएका रहेछन् । किनकि वर्षौं फेल भएर एउटै कक्षामा बसिरहँदा उमेर त २८को उल्टो पनि हुन सक्छ । अर्थात ८२ ।

अनि , कहाँ उमेरको हदम्याद तोकेर हुन्छ त ? कस्तो यसबारेमा निर्णय गर्नेले पनि नजानेको होला भनेर धरहरा वरपर थुप्रैले टिप्पणी गरेको सुनिएको छ । धरहरा चाहिं विचरा विद्यार्थीहरुको मागमा समर्थन जनाउन चाहन्छ । किनकि केही न केही सिक्ने कुरालाई कहिलेपनि उमेरले छेक्ने भन्ने कुरा हुँदैन ।

विद्यार्थीहरुलाई पनि उमेर बढी भयो भनेर पढ्न रोक्ने कुरा त भएन होला ? विद्यार्थी भएपछि भोटिङको अधिकार त स्वतः भइहाल्यो । कि कसो विद्यार्थी महोदयहरु ? धरहरापनि बृद्ध बालकको लाइनमा गयो है अब । वर्षौ सम्म एउटै कक्षामा फेल भइरहनुस् । राजनीति गर्नुस् , नेता बन्नुस् ।

उमेरको हद म्याद तोक्न पाइदैन भनेर पत्रकार सम्मेलन गर्नुस् । सबै संगठनमा बृद्ध बालकको कमी छैन क्यारे । सबैले साथ दिइ हाल्छन् । क्या मोज ? त्यसपछि त लौरो टेक्ने उमेर सम्म अर्थात् ८२ वर्ष सम्म यहाँहरुलाई कसले छुने ? सधै युवा विद्यार्थी नेता । कि कसो पाठकबृन्द ??

प्रतिक्रिया दिनुहोस्