हिलेमा होराइजन माउन्टेन रिसोर्ट



नेपाल समाचारपत्र
काठमाडौं
पूर्वको पर्यटकीय क्षेत्र धनकुटा हिलेस्थित त्रिशुलेमा अत्याधुनिक सुविधा सम्पन्न होटल होराइजन माउन्टेन रिसोर्ट सञ्चालनमा आएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार होटलको उद्घाटन गर्नुभएको छ। व्यवसायी रेवतबहादुर थापाले करिब २० करोड रुपियाँको लागतमा रिसोर्टको निर्माण गर्नु भएको हो।
करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा ३१ कोठा र ६ वटा कटेज रहेका छन्। एकैपटक २ सय ५० जनालाई सेवा दिन सकिने सेमिनार हल छ भने आफ्नै मल्टिकुजिन रेष्टुराँ पनि रहेको छ। रिसोर्टमै ज्याकुजी र सौनाको सुविधा पनि उपलब्ध छ। ५० जनाले प्रत्यक्षरुपमा रोजगारी पनि पाउने यस रिसोर्ट नजिकै पिकनिक स्पटको व्यवस्था गरिएको छ।

रिसोर्टमा खपत गर्ने उद्देश्यले आफ्नै अर्गाेनिक तरकारी खेती, डेरी, खसी बोका र कुखुरा फर्मसमेत सञ्चालन गरेको छ। त्यसैगरी होटेलले आफ्नै क्षेत्रमा होटललाई चाहिने बायोग्यास र वायु ऊर्जा उत्पादन गरेको छ। होटल व्यवसायमा चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले साउथ एसियन स्कुल अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्टको सहकार्यमा विद्यार्थीहरूलाई इन्टर्नको पनि व्यवस्था गरेको छ।

मकालु, सगरमाथा र कञ्चन्जंगा हिमशृङ्खलाको दृश्यावलोकन यहाँको मुख्य आकर्षण हो। रिसोर्टले पाहुनका लागि घोडचढी, साइकिलिङ र दृश्यावलोकनको पनि सेवा दिने बताएको छ। होटल सञ्चालन पश्चात भेँडेटार, पाथिभरा आदि पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकासमा समेत टेवा पुग्ने विश्वास रिसोर्टले लिएको छ।

प्रतिक्रिया दिनुहोस्