मौलाउँदो तस्करी



(विनोद नेपाल) नेपाल तस्करीको केन्द्र बन्दै आएको छ । खुला सिमाना भएको छिमेकी भारतको त कुरै छाडौं, यो तेस्रो मुलुकका कतिपय कुख्यात अपराधीहरूको समेत आश्रयस्थल बन्दै आएको छ । सहज आवागमन, विदेशीप्रति कुनै किसिमको आशंका नगरी सहजै स्वागत गर्ने र उदारता प्रदर्शन गर्ने प्रचलनको फाइदा गलत तत्वले उठाउँदै आएका छन् । कुनै व्यक्ति मुलुकभित्र छिर्दा कुन उद्देश्यले आएको हो, उसको संलग्नता, पेसा, व्यवसाय वा आबद्धता कुन क्षेत्रमा छ भन्नेजस्ता विषयमा विस्तृत जानकारी नलिइनुका कारण पनि आपराधिक चरित्रका व्यक्तिहरूले पछिल्लो समय नेपाललाई आधार बनाएर अन्तर्राष्ट्रिय अपराधहरूमा संलग्न हुने गरेको पाइएको छ ।

हामीकहाँ हुने अपराधहरूमा लागूऔषध, विदेशी मुद्रा, बहुमूल्य धातु, लोपोन्मुख जीव एवं वन्यजन्तुका अंगहरूको तस्करी आदि प्रमुख छन् । यसै गरी एटीएम ठगीजस्तो आर्थिक अपराधमा पनि विदेशीहरूको संलग्नता पुष्टि भैसकेको छ । नेपाल हुँदै चीनतर्फ रक्तचन्दनको तस्करी हुने गरेको पनि सार्वजनिक भएकै हो । आपराधिक गिरोहको प्रभावमा परी नेपालीहरूसमेत विभिन्न किसिमका आपराधिक कार्यमा संलग्न हुँदै आएका छन् । नेपालीको संलग्नतामा हुने आपराधिक कार्यमा बहुमूल्य धातु सुनको तस्करी प्रमुख छ ।

सुन तस्करी हाम्रा लागि नयाँ र नौलो विषय होइन । यो निकै अघिदेखि हुँदै आएको हो । पञ्चायती शासनकालमा सत्तासीनहरूकै संरक्षण र संलग्नतामा सुन तस्करी हुने गरेको थियो भने बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् पनि थुप्रै नेता र सरकारी अधिकारीहरू सुन तस्करीमा मुछिएका र थुप्रै ‘सुनकाण्ड’हरू चर्चामा आएका हुन् । तर त्यस्ता विषयमा सोधखोज, अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने काम भएन, बरु प्रायः सबैले उन्मुक्ति पाए । यसैले सुन तस्करीमार्फत कमाउने प्रवृत्ति बढ्दै गयो र यसमा गिरोहहरू नै संलग्न हुन थाले ।

विगत केही वर्षदेखि खासगरी तातोपानी नाका हुँदै स्थलमार्गबाट तस्करी हुने गरेकोमा गतवर्षको भूकम्पले सो नाका अवरुद्ध भएपछि अन्य नाकाहरू हुँदै तस्करी हुन थालेको छ । यसै क्रममा केही दिनअघि कलंकीबाट सात किलो र त्यसअघि बौद्धबाट १० किलो अवैध सुन बरामद भएको थियो । प्रहरीका अनुसार गत जेठदेखि पुससम्म राजधानीबाट कुल ५५ किलो अवैध सुन बरामद भएको थियो । यसैमध्ये दुई हप्ताअगाडि, सम्भवतः हालसम्मकै सर्वाधिक परिमाण झन्डै ३३ किलो अवैध सुन बरामद भयो, जुन हवाई मार्गबाट तस्करी भई आएको हो ।

संयुक्त अरब इमिरेट्सबाट अवैधरुपमा काठमाडौं भित्रँदै गरेको उक्त परिमाणको सुन र सुनका गहना पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वारनजिकै बरामद भएको हो । विमानस्थलको भन्सार चेकजाँच तथा सुरक्षा घेरा पार गरी बाहिरिँदै गरेको अवस्थामा दुईवटा सुटकेसमा लुकाई ल्याइएको उक्त परिमाणको सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बरामद गरेको हो । अवैध सुन तस्करीको विशेष सुराकीका आधारमा विमानस्थल परिसरमा खटिएको प्रहरी टोलीले एयर अरेबियामार्फत अवैध सुन बोकेर काठमाडौं आइपुगेका गोपाल शाहीबाट उक्त परिमाणको सुन बरामद गरी निज शाहीलाई समेत पक्राउ गरेको हो । विमानस्थलबाट यति ठूलो परिमाणको सुन फेला परेको सीआईबी प्रहरीको लागि यो पहिलो घटना भएको बताइएको छ ।

यस घटनापछि अहिले सबैतिर विमानस्थल भन्सार तथा विमानस्थल सुरक्षा संयन्त्र एवं सम्बद्ध निकायहरूप्रति नै आशंका उत्पन्न भएको छ । लगेजभित्रै त्यति धेरै सुन राखेर ल्याउने आँट सानो होइन, । अझ यत्रो परिमाणको सुन सम्पूर्ण चेकजाँच भई सुरक्षितरुपमा बाहिरिनुलाई रहस्यमय त मानिएको छ नै, यो काम कुनै सेटिङ्िवना सम्भव नहुने पनि ठानिएको छ । सामान्य व्यक्तिले यस्तो आँट गर्न सक्ने कुरै हुँदैन । निश्चय नै अपराधीले आफ्नो अपराध कर्मको सफलताका लागि विभिन्न उपाय अपनाउँछ । तर आधुनिक प्रविधिले सम्भावित अपराधको पहिचान गर्न र त्यस्ता अपराधबाट जोगिन सक्ने सम्भावनाहरू पनि पहिल्याउँदै गएको अवस्थामा यति धेरै परिमाणको सुन जुन तौलका कारण पनि आशंकामा पर्नुपर्ने हो, नपर्नु आफैंमा आश्चर्य हो । यसैले लापरबाही र मिलेमतोबेगर यस्तो काम सम्पन्न हुन सम्भव थिएन भन्ने अनुमान गर्न कठिन छैन । यसमा धेरैको र पहुँचवालाको संलग्नता, सहयोग र समर्थन हुनसक्छ । हवाई मार्गबाट यति ठूलो परिमाणमा सुन तस्करी गर्ने आँट त सामान्य व्यक्तिले गर्नै सक्दैन । यसैले विमानस्थल भन्सार प्रशासन र विमानस्थल व्यवस्थापनसमेत यसमा मुछिनु स्वाभाविक छ ।

विगतमा पनि कतिपय घटनामा विमानस्थलका सुरक्षा अधिकारी, भन्सार प्रशासन र अध्यागमनसमेत विभिन्न काण्डमा संलग्न भएको प्रमाणित भएकै हो भने त्यहाँभित्रका कसैको साथ र सहयोगविना नै यत्रो तस्करी सम्भव भयो भन्न सकिँदैन । यसैले यसको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीहरूलाई दण्डित गर्नै पर्छ । सोझासीधा यात्रु सानातिना बहानामा अल्झनुपर्ने र तस्करहरूले सेटिङकै कारण सहजै निस्कन पाउने अवस्थाको अन्त्य हुनुपर्छ । स्मरणीय छ, यसै घटनामा संलग्न भएको आरोपमा विमानस्थल भन्सारका दुई अधिकृत हाल अनुसन्धानका लागि हिरासतमा छन् ।

यसै बीच, हवाईमार्गबाट आएको झन्डै ३३ किलो सुन पक्राउपछि माघ १ गते स्थलमार्गबाट तस्करी भई आएको १५ किलो अवैध सुनसहितको गाडी पक्राउ परेको छ । केरुङ नाका हुँदै आएको सो परिमाणको सुन र सवारीसाधन प्रहरीवृत्त बालाजुले सुराकीको आधारमा पक्राउ गरेको हो । यसै गरी नागढुंगामा ठूलो मात्रामा विदेशी मुद्रासहित चिनियाँ नागरिक पक्राउ परेका छन् । जुन तरिकाले गाडीमा सुन राखिएको थियो त्यसलाई हेर्दा पटक–पटक ठूलो परिमाणमा तस्करी भइसकेको हुनसक्ने प्रहरीको अनुमान छ । कालोधनलाई सेतो बनाउन र अवैध आर्जनलाई वैध बनाउन पनि सुनको तस्करी बढेको अनुमान प्रहरीको छ । तर विडम्बना के छ भने, यस्ता तस्करीमा भरिया मात्र पक्राउ पर्छन्, मालिक पक्राउ पर्दैनन्, पत्ता नै लाग्दैनन् । यसले तस्करी गिरोहको पहुँच निकै भित्रसम्म भएको अनुमान गर्न सकिन्छ ।

बारम्बार दोहोरिइरहने यस्ता घटनाले मुलुकमा आपराधिक समूहको सक्रियता बढेको प्रस्टै हुन्छ । यदि समयमै यस्ता समूह र त्यसमा संलग्नको पहिचान गरी कारबाही गर्न नसके नेपाल आपराधिक गिरोह र तस्करको स्वर्ग बन्ने खतरा भएकोले पनि यस घटनाबाट यो सन्देश लिँदै आफ्ना संयन्त्रहरूलाई जिम्मेवाररुपमा सञ्चालन गर्नु पनि उत्तिकै जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्