सुदूरपश्चिम सहारासँग नतमस्तक



धन बस्नेत, पोखरा

आयोजक टोली सहारा क्लबसँग ४–० गोलको पराजयसँगै सुदूरपश्चिम आहा रारा गोल्डकपको १५औं सस्करणको पहिलो आतिथ्यतालाई अविस्मरणीय बनाउन चुकेको छ।

पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेल एकपक्षीय जस्तै बन्दा आयोजकको अर्थपूर्ण जित रह्यो। कमजोर टोलीमाथि हावी बनेको खेलमा सहाराले छैटौं मिनेटमा गोलको अग्रतासँगै घरेलु मैदानको फाइदा उठाउन शुरू गर्यो। डिफेन्सलाई कटाउँदै एकल प्रयासमा अफ्रिकन खेलाडी मार्टिनले गोल गरे। २६औं मिनेटमा दोस्रो गोल भने रिचार्ड पुनले गरे। उनलाई कप्तान उत्तम गुरुङले पास उपलब्ध गराइदिएका थिए।

तेस्रो गोल सुदूरपश्चिम गोलकिपरले हानेको बललाई अर्का अफ्रिकन खेलाडी पिटर सेगनले नियन्त्रण लिँदै कमजोर डिफेन्सको फाइदा उठाउन भ्याए। पहिलो हाफमै ३–० गोलले पछि परेको सुदूरले खेल नियन्त्रणमा लिने प्रयासमा जुटे पनि गोलको अवसर सृजना गर्नै असमर्थ रह्यो। ८२औं मिनेटमा मार्टिनले व्यक्तिगत दोस्रो गोल थप्दै सहारालाई फराकिलो जित सुनिश्चित बनाइदिए।

सहाराले अब सिक्किम युनाइटेडसँगै सेमिफाइनल प्रवेशका लागि खेल्नेछ। खेलमा सहारा हावी भए पनि केही राम्रो अवसर भने सुदूरपश्चिमले पनि पाएको थियो। पहिलो हाफको १५ मिनेटभित्र नै दुई अवसर गुमाउन पुग्यो। १२औं मिनेटमा नरेन्द्र चौधरीलेका पावर सट बल आउट हुन पुग्यो भने अर्को प्रयासलाई रमेश मगरले गोल लाइनबाट क्लियर गर्दै सहारालाई गोल खानबाट जोगाए। बुधबारको दोस्रो खेल आज माघ ५ गते सशस्त्र प्रहरीको एपीएफ क्लबले पूर्वाञ्चलको धरान फुटबल क्लबसँग खेल्नेछ।

प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ। उपविजेतलाई दुई लाख ५१ हजार एक रुपियाँ नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक थान हिरो स्कुटर प्रदान गरिनेछ। त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर र प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ नगद प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपियाँ प्राप्त गर्नेछ।
प्रतियोगितालाई हिमश्री फुड्को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ।

प्रतिक्रिया दिनुहोस्