सहभागिताबाट वञ्चित खेलाडी पुरस्कृत



काठमाडौं, (नेस)
अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले पाँच नेपाली तेक्वान्दो खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ।

भिसाका कारण अमेरिकाको पोर्टल्यान्डमा भएको ११औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउन नपाएका ती खेलाडीलाई सम्मान गरिएको हो। गत अक्टोबर १४ देखि १५ तारिखसम्म भएको उक्त प्रतियोगिताका लागि छनोट भएर पनि भिसाका कारण सहभागिता जनाउन नपाएपछि आईओएफटीसीले उनीहरूलाई पुरस्कृत गर्ने पहिल्यै घोषणा गरेको थियो। राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले खेलाडीलाई जनही १ लाख रुपियाँ र प्रशंसापत्र प्रदान गरे।

गत वर्ष मंसिर ५ गते लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रथम राष्ट्रिय मैत्री तेक्वान्दो प्रतियोगितामा पहिलो भएका ३ पुरुष र २ महिला गरी पाँच खेलाडी छनोट भएका थिए। पुरुषको ६८ केजीमुनि प्रेमबहादुर नेपाली, ८० केजीमुनि रजिन सिंह र ५८ केजीमुनि माधव तिमल्सिना छानिएका थिए। महिलाको ४७ केजीमुनि पार्वती पाण्डे र ५३ केजीमुनि रञ्जना थापा छनोट भएका थिए।

सोही अवसरमा रियो ओलम्पिक–२०१६ मा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेको भन्दै तेक्वान्दो खेलाडी निशा रावललाई पनि नगदसहित सम्मान गरिएको थियो। आईओएफटीसीका टुर्नामेन्ट डाइरेक्टर दिवाकर महर्जनले उपलब्ध गराएको ५० हजार नगद उपाध्यक्ष शेर्पाले निशालाई हस्तान्तरण गरे।

प्रतिक्रिया दिनुहोस्