“एक चीन नीतिमा नेपाल प्रतिबद्ध”



नेपाल समाचारपत्र
काठमाडौं
विभिन्न दलका नेताहरूले छिमेकी मुलुक चीनसँगको सहकार्य अपरिहार्य रहेको औंल्याउँदै नेपाल एक चीन नीतिमा प्रतिबद्ध भएको दोहोर्याएका छन्।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘चाइना–नेपाल थिंक ट्यांक’ सम्मेलनमा सहभागी अधिकांश नेता र कूटनीतिज्ञहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्। सम्मेलनको उद्घाटनका अवसरमा बोल्नुहुँदै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो– ‘नेपालले लिएको एक चीन नीति कुनै पार्टी र सरकारको मात्र होइन, यो समग्र नेपाल र नेपालीले लिएको नीति हो।’
चीनले अघि सारेको ‘वन वेल्ट वान रोड’ को अवधारणा नेपालको विकास र आर्थिक उपलब्धिका लागि महत्त्वपूर्ण बन्ने उहाँको भनाइ थियो। आफू प्रधानमन्त्री भएका बेला चीनसँग भएको सम्झौताले दुवै मुलुकको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने गरी रणनीतिक महत्त्वका सम्झौता भएको ओलीले स्मरण गर्नुभयो।

कार्यक्रममा बोल्नुहुँदै राप्रपाका अध्यक्ष कमल थापाले चीनसँगका सम्झौता कार्यान्वयनमा वर्तमान सरकारले ढिलासुस्ती गरेको भन्नुहुँदै सरकारको आलोचना गर्नुभयो। नेपाललाई भारतवेष्ठित अवस्थाबाट मुक्त गरेर साँच्चिकै भू–परिवेष्ठित मूलकका रूपमा दुवै छिमेकी मुलुक हुँदै समुद्रसम्मको पहुँचका विस्तारका लागि ओली नेतृत्वको सरकारले महत्त्वपूर्ण आधार तयार गरेको थापाले दाबी गर्नुभयो।
चीनसँगको पारवहन सम्झौताले भारतसँग दूरी बनाउने काम नभएको र उहाँको भनाइ थियो। सम्मेलनमा सहभागी हुन सोमबार नेपाल आउनुभएका चिनियाँ प्राध्यापक वाङ डोङ हङले पूर्ववर्ती सरकारको कार्यकालमा दुवै मुलुकबीच महत्त्वपूर्ण सम्झौता भएको उल्लेख गर्दै ती सम्झौता कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँले भन्नुभयो– ‘चीनका अरू पनि छिमेकी मुलुक छन् तर नेपालसँगको सम्बन्ध विशेष छ।’ आज बुधबार समापन हुने सम्मेलनमा सहभागी हुन वाङको नेतृत्वमा १४ सदस्यीय टोली सोमबार नेपाल आएको हो। यसअघि कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे, संघीय समाजवादी फोरमका नेता डा. शिवजी यादवसहित अन्य कूटनीतिज्ञहरूले नेपालका लागि सधैं चीन असल मित्र भएको स्मरण गरे।

प्रतिक्रिया दिनुहोस्