वित्तीय अनुशासन कायम राख्न अख्तियारको निर्देशन



काठमाडौं, (नेस)
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त दीप बस्न्यातले ऋण प्रवाह र असुलीका नाममा भइरहेको वित्तीय अनुशासनहीनता तत्काल रोक्न सरोकारवाला निकायहरूलाई निर्देशन दिनुभएको छ।

अख्तियार परिसरमा मंगलबार आयोजित बैंक तथा वित्तीय संस्थाहरूका पदाधिकारीहरूसँगको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रमुख आयुक्त बस्न्यातले ऋण प्रवाह र असुलीका नाममा भइरहेको वित्तीय अनुशासनहीनताका कारण राष्ट्रिय अर्थतन्त्र नै प्रभावित हुने हुँदा यस्तो प्रवृत्तिमाथि अंकुश लगाउन आवश्यक भएको बताउनुभएको हो।

खास गरी ऋण दिंदालिंदा आफू खुसी शर्तहरू निर्धारण गर्ने र ग्राहकहरूमाथि लाद्ने प्रवृत्ति हावी भएको हुँदा बैंक तथा वित्तीय संस्थाहरूले तय गर्ने कार्यविधिमा एकरूपता कायम हुनुपर्ने बताउनुहुँदै उहाँले ऋणीहरूलाई टाट पल्टाउने मनोविज्ञानबाट बैंक तथा वित्तीय संस्थाहरू मुक्त हुनुपर्ने धारणा राख्नुभयो।

बैंकिङ क्षेत्रका कारोबार वित्तीय अराजकता र ऋण प्रवाह एवं असुलीमा भएका असमान व्यवहारलाई लिएर आयोगमा उजुरीको चाप बढेको तथ्यतर्फ ध्यानाकर्षण गराउँदै उहाँले आयोग यस्ता विषयमा रहरले नभई बाध्यताबस प्रवेश गर्नुपर्ने अवस्था रहेको स्पष्ट गर्नुभयो।

कार्यक्रममा सहभागी अर्थमन्त्रालयका राजस्व सचिव राजन खनाल, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल बैंक लिमिटेड, नेपाल बाणिज्य बैंक र नेपाल कृषि विकास बैंकका कार्यकारी प्रमुखहरू, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल शाहलगायत बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरूले वित्तीय अनुशासन कायम गर्नका निम्ति आयोगको निर्देशनलाई तत्काल कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे।

सो कार्यक्रममा अख्तियारका आयुक्तहरू नवीनकुमार घिमिरे, डा.गणेशराज जोशी, राजनारायण पाठक, डा.सावित्री थापा गुरुङ तथा आयोगका सचिव राजेन्द्रकिशोर क्षेत्रीले पनि आफ्नो–आफ्नो भनाइ राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्