फेडेररको पहिलो चरणमा जित



मेलबर्न, (एजेन्सी) चार पटकको विजेता रोजर फेडेरर चार सेटको जितसँगै अस्ट्रेलियन ओपनको दोस्रो चरणमा पुगेका छन् । मेलबर्नमा जारी वर्षको पहिलो ग्रान्डस्लामअन्तर्गत सोमबार ३५ वर्षीय फेडेररले अस्ट्रियाका यर्गेन मेल्जरलाई चार सेटमा हराएका हुन् । उक्त पहिलो चरणको खेल स्विस खेलाडीले ७–५, ३–६, ६–२, ६–२ ले जितेका थिए । यो उनको घुँडाको चोटपछि ६ महिनामा खेलेको पहिलो प्रतिस्पर्धात्मक खेल थियो ।

दोस्रो चरणमा अमेरिकाका नोह रुबीनविरुद्ध सामना गर्ने फेडेररले दुई घण्टा चलेको खेलमा १९ एस प्रहार गरेका थिए । जितपछि १७ पटकको ग्रान्डस्लाम विजेताले बताए—मैले हारेकै भए पनि यो राम्रो खेल हुन्छ । किनभने म कोर्टमा फर्केको छु । गत वर्ष कठिन भएको थियो तर यो चाहि फेरि सामान्य टेनिस खेलिरहेकोले राम्रो बनेको छ ।

यसैगरी विश्व नम्बर चार स्विस खेलाडी स्टान वाउरिन्काले जित्न पाँच सेट संघर्ष गरेका थिए । उनले स्लोभाकियाका मार्टिन क्लीजानलाई ४–६,६–४,७–५,६–७,६–२ ले हराएका थिए । त्यस्तै जापानका केइ नीशीकोरीले रसियाका एन्ड्री कुज्नेटसोभलाई ५–७, ६–१,६–४,६–७,६–२ ले पराजित गरेर दोस्रो चरणमा प्रवेश गरे ।

प्रतिक्रिया दिनुहोस्