रियलको अपराजित यात्रा टुंगियो



लन्डन, (एजेन्सी) स्पेनिस ला लिगा क्लब रियल मेड्रिडको यस सिजनमा बनेको अपराजित यात्रा आईतबार राति सेभियासँगको हारसँगै टुंगिएको छ । अघिल्ला ४० खेलसम्म अपराजित यात्रामा रहेर नयां स्पेनिस लिगमा कीर्तिमान बनाएको रियल मेड्रिड ला लिगा खेलमा हारेको हो । सेभियाले आफनै गृह मैदानमा भएको खेलमा रियललाइ २–१ ले हराएको थियो । रियलको यो ४१औं खेलमा बेहोरेको हार थियो ।

रियल मेड्रिडले खेलमा अग्रता लिएको थियो । क्रिस्टियानो रोनाल्डोले खेलको ६७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । तर ८५औं मिनेटमा रियलका कप्तान सर्जियो रामोसले आत्मघाती गोल गरेपछि सेभिया खेलमा फर्केको थियो । बराबरीतिर अग्रसर उक्त खेल विजेता टुंगो इन्जुरी समयमा लाग्यो । खेलमा थपिएको इन्जुरी समयको पहिलो मिनेटमा जोभिटिकले गोल गरेपछि सेभिया २–१ गोल अन्तरले विजयी बन्यो ।

यो रियल मेड्रिडको ६ अप्रिलपछि पहिलो हार थियो । गत अप्रिलमा रियल मेड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनल अन्तर्गत पहिलो लेगमा जर्मनीको उल्फबर्गसँग पराजित भएको थियो । त्यसपछि रियलले अघिल्लो खेलमा बार्सिलोनाले बनाएको ३९ खेलको अपराजित कीर्तिमानलाई समेत उछिनेको थियो । उक्त हार पछि पनि ला लिगामा रियलको शीर्षता अग्रता कायमै छ ।

बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको सेभियाको १८ खेलबाट ३९ अंक छ भने एक खेल कम खेलेको लिग लिडर रियलको ४० अंक छ ।

प्रतिक्रिया दिनुहोस्