मकवानपुरमा पढाइरहेको कुरा सानोठिमीबाट प्रत्यक्ष प्रसारण



हेटौंडा,(नेस)। मकवानपुरको ६ वटा विद्यालयमा नयाँ तरिकाबाट पढाई हुन थालेको छ । शिक्षकले पढाइरहेको सानोठिमीको स्टुडियोबाट प्रत्यक्ष प्रसारण हुन्छ ।

मकवानपुरमा पुस २४ गतेबाट भर्चुअल प्रणालीबाट कक्षा १० को पढाई हुन थालेको हो । यस वर्षको लागि ३३ दिन विहान पौने १२ बजेदेखि दिउँसो पौने २ बजेसम्म तीन वटा विषयको पढाई हुन्छ ।

गणित, विज्ञान र अंग्रेजीको पढाई यसरी हुँदै आएको छ । जुन विषय प्रसारण हुने हो, त्यहि विषयका शिक्षकले कक्षाकोठामा सहजीकरण गर्नेछन् । भर्चुअल शिक्षा प्रणालीको बानी नपरेकाले केही समय भर्चुअल पढाईले विद्यार्थीको बुझाईमा अप्ठ्यारो भए पनि पछि बानी पर्दा यसको महत्व झन बढ्ने भर्चुअल पढाई हुने हेटौंडा–२ को सिद्धार्थ माध्यमिक विद्यालयका शिक्षक टीका दाहालले जानकारी दिनुभयो ।

उक्त विद्यालयमा अध्ययनरत् विद्यार्थी अभिषेक घिमिरेका अनुसार कक्षामा शिक्षकले पढाएजस्तो भने नहुने बताए । घिमिरेले नबुझेको कुरा शिक्षकलाई भए तुरुन्त सोध्न मिल्ने तर भर्चुुअल कक्षामा त्यसको सुविधा नहुने उनको अनुभव छ । विज्ञान शिक्षक खेम लामिछानेका अनुसार भर्चुअल शिक्षाले विद्यार्थीलाई शिक्षक अनुपस्थिति भएको समयमा पनि पढाउन सकिने र विद्यार्थीले नयाँ प्रविधिअनुसार सिक्नपाउने भएकोले यसको आवश्यकता छ ।

यस वर्ष ३३ दिनसम्म ३ वटा विषयको भर्चुअल पढाई हुने भए पनि आगामी शैक्षिक सत्रको सुरुवातदेखि कक्षा १० का ६ वटा विषय भर्चुअल पढाई हुने शिक्षा कार्यालयले जानकारी दिएको छ ।

हेटौंडाको आधुनिक माध्यमिक विद्यालय, श्रमिक माध्यमिक विद्यालय, पदमपोखरीको महेन्द्र माध्यमिक विद्यालय, फापरबारीको जनता माध्यमिक विद्यालय, चित्लाङको स्वच्छन्दभैरव माध्यमिक विद्यालय, बसामाडीकोे ज्योति माध्यमिक विद्यालयमा भर्चुअल पढाई भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्