अवरोध आए पनि आईसीयु निश्चित



रोशन पराजुली, हेटौंडा

हेटौंडामा रहेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा आईसीयु सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुग्दा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले अवरोध गरेको दाबी गरिएको छ।

सरकारी स्तरबाट सस्तो तथा सुलभ रूपमा आईसीयु सञ्चालन गर्ने तयारी स्वरूप अस्पताल विकास समितिले ४ जना मेडिकल अधिकृत, ८ जना स्टाफ नर्स, ५ जना स्वीपर तथा ४ जना फार्मेसी कर्मचारी पदपूर्तिका लागि परीक्षा लिएको अवस्थामा केही राजनीतिक दलले अस्पताल विकासमा अवरोध गर्दै राज्यमन्त्रीमार्फत् पदपूर्ति तत्काल रोक्न पत्र पठाएको अस्पताल विकास समिति अध्यक्ष सुनिल मोक्तानले बताए। मोक्तानले सामाजिक सेवामा पनि तुच्छ तवरको राजनीतिकरण हुँदा आफू मर्माहत भएको बताए। आफ्नो कार्यकालमा अस्पतालले निकै फड्को मारेको बताउँदै मोक्तानले विकासविरोधी चरित्र रहेसम्म अस्पतालको विकास गर्न कठिन हुने बताए।

केही समय अघिसम्म रिफर सेन्टरका रूपमा रहेको अस्पताल हाले रेस्क्यु सेन्टरका रूपमा विकास भइरहेको अवस्थामा अस्पतालजस्तो पवित्र स्थानमा राजनीति हुनु निकै लज्जाजनक भएको उनको टिप्पणी छ। राज्यमन्त्रीको आदेशमा पदपूर्ति नरोकिने बताउँदै उनले आफूले कानुनबमोजिम पदपूर्ति प्रक्रिया अघि बढाएको र माघ ४ गते आईसीयु सेवा उद्घाटन गर्ने उनको दाबी छ।
हेटौंडा अस्पतालमा आईसीयु राखेर बिरामीलाई सेवा दिन लागिएको समयमा उक्त कार्य तत्काल नगर्न स्वास्थ्य राज्यमन्त्रीले आदेश दिएकोप्रति युवा संघ मकवानपुरले विरोध गरेको छ। स्वास्थ्य राज्यमन्त्री गुरुङको आदेशमा शाखा अधिकृत कृष्णराज पाण्डेद्वारा हस्ताक्षरित पत्रमार्फत् आईसीयु सञ्चालनका लागि कर्मचारी नियुक्ति प्रकृया तत्काल रोक्न आदेश दिएकोप्रति युवा संघले विरोध गरेको हो।

युवा संघ मकवानपुर अध्यक्ष सन्तोष चौलागाईंले पत्रकार सम्मेलन गर्दै हेटौंडा अस्पताल विकास समितिलाई आईसीयु सञ्चालनमा गरिएको अवरोधको विरोध गरे। अस्पतालमा पहिलो पटक आईसीयु सञ्चालन गर्न लागिएको हो। स्वास्थ्य राज्यमन्त्रीले राजनीतिक प्रतिशोध राखेर सरोकारवालालाई जानकारी नदिई आदेश दिइएकोमा विरोध गरिएको अध्यक्ष चौलागार्इंले बताए। आईसीयुमा चाहिने जनशक्ति राख्ने काम सञ्चालन भइरहेको समयमा रोक्न आदेश दिइएको हो। यसले गर्दा आईसीयु सञ्चालन काम अनिश्चित बनेको छ।

प्रतिक्रिया दिनुहोस्