तारुकामा भएको गोरु जुधाईमा ‘सिंहदरवारका साँढेहरूको’ चर्चा



(रामहरि गजुरेल)/ तारुका, २ माघ ।

शनिवार पहाडमा माघेसंक्रान्ति र तराईमा माघी पर्वको उल्लास देशैभरी छाइरहेको थियो । यसै मेसोमा नुवाकोटको तारुकाको चन्दनीडाँडा गाउँमा भने अर्को बेग्लै रौनक थपियो, बलवान साँढेहरुको रोचक घम्साघम्सी ।

आफ्नै देशको मौलिक शैली र संस्कृति बनिसकेको नेपालको एकमात्र गोरु जुधाई मेलाले विश्वमै चर्चित खेल प्रतियोगिता मानिएको स्पेनको बुलफाइट पनि बिर्साउने भिन्नै आकर्षण बन्यो । सांसद रामहरि खतिवडा, बहादुरसिंह लामा लगायतका केही सांसदहरुसहित पुगेका रक्षामन्त्री बालकृष्ण खाँडले हजारौँ दर्शकहरुको माझमा उक्त ‘बुलफाइट’ को उद्घाटन गरे ।

गोरु युद्ध र यता काठमाडौंमा बढ्दो राजनीतिक द्वन्द्वसँग दाँज्न खप्पिस थुप्रै दर्शकहरुको भीडले यहाँको नाङ्गो पाखा रङ्गिन बनेर भरिभराउ थियो । ‘सिंहदरवारका साँढेहरूको जुधाई भन्दा त यस्तो साँढे जुधाई हेर्न पो मजा आउँछ’, गोरु युद्ध मैदानमा भिड्दै थिए, यता उत्साही दर्शकहरु उन्मुक्त हाँसोमा व्यङ्ग गर्दै रहन्थे ।

भयंकर फराकिलो बारीको पाटोमा गाउँका अजंगका साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाईने यो प्रतियोगिता २ सय वर्षअघिदेखी चल्दै आएको स्थानियहरुको कथन छ । यो गोरु जुधाई पर्व कुनै लहड अथवा आफूखुशीको पर्व नभएको संस्कृतिविद् र इतिहासकारहरु बताउँछन् ।

गोरुको घम्साघम्सीमा काले, तारे, फुर्के, बर्ने, सिँगारे, जोवाने जस्ता अनेकौं नाम गरेका साँढेहरु मैदानमा उत्रिन्छन् ।
त्यसका लागि एक महिनाअघि नै रिहर्सलमा सवैले आफ्ना बलवान गोरु देखाउन ल्याउँछन् । कुन साँढे कुनसंग जुधाउने, उमेर र साइज निक्र्याैेल गरिन्छ । साना आकारको चिटिक्क, टिनिक्क परेको छरितो ज्यानमा पुटुस्स परेको रहरलाग्दो जुरो । पोहोर साल जुधेर स्वाद थाहा पाएका साढेको हुँकार अझ हेर्न लायक हुन्छ ।

बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका साँढेहरु जुध्दा पाखाभरि भरिभराउ हजारौँ दर्शककहरुको ताली र हुटिङले अर्को आकर्षण थपिदिन्छ । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ । मोटा बलिया बहरगोरुहरु लगातार एक घण्टासम्म भिड्ने गर्छन् । प्रतियोगितमा जसले पालेको गोरुले जित्छ उसैले हार्ने गोरु लैजाने चलन छ ।

प्रतिक्रिया दिनुहोस्