टुहुरा तीन बालकलाई ८४ हजार सहयोग



नेपाल समाचारपत्र
लमजुङ
लमजुङको बेंसीशहर नगरपालिका–१३, मकैडाँडा गाउँका टुहुरा ३ बालकका लागि दुबईबाट आर्थिक सहयोग प्राप्त भएको छ। वैदेशिक रोजगारमा दुबईका कार्यरत सोही वडाका युवाहरूले आफ्नो गाउँमा बालक टुहुरा भएको जानकारी पाएपछि सहयोगका लागि संकलन गरेको रकम उनीहरूलाई दिइएको हो।

बेंसीशहर नगरपालिका–१३, चनौटेका हरिबहादुर राउतको नेतृत्वमा नेपालीहरूबाट रकम संकलन गरिएको ८४ हजार ८ सय ४ रुपियाँ बेंसीशहरस्थित प्यासिफिक डेभलपमेन्ट बैंकमा ३ टुहरा बालबालिकाको नाममा संयुक्त खाता नं ००१०७९५७ द्यद्य मा जम्मा भएको ती बालकका छिमेकी बुद्धिबहादुर रिमालले बताउनुभयो। उहाँका अनुसार सो रकम वैदेशिक रोजगारमा रहेका बेंसीशहर–१३ का दीपेन्द्र राउत, सिम्पानी भलामका परशुराम भण्डारी, सिम्पानी पामजोकका प्रताप थापा, गौंडाका युवराज गुरुङलगायत नेपालीहरूको सहयोग रहेको छ।

आफ्नो बुबा, आमा र हजुरआमाको निधनपछि टुहुरा भएका १५ वर्षीय सुरेन्द्र रिमाल, १३ वर्षीय विवेक रिमाल र १० वर्षीय अभिषेक रिमाललाई कान्छी आमा गोमा रिमालले मातृत्व प्रदान गर्दै आएको छ। बेंसीशहर–१२ स्थित चन्द्रसूर्य बोर्डिङ स्कुलमा ३ जना टुहुरा बालकहरू अध्ययन गर्दै छन्। जेठो सुरेन्द्र रिमाल आफू कक्षा ५ मा पढिरहेको बताउनुभयो। सुरेन्द्रका अनुसार माइलो भाइ विवेक रिमाल कक्षा ४ र कान्छो भाइ अभिषेक रिमाल कक्षा २ मा अध्ययन गरिरहेको र बोर्डिङमा आफूले निःशुल्क अध्ययन गरिरहेको बताए। उनीहरूका हजुरआमा गुद्यौली रिमालको निधनपछि भने ठूलीआमा अञ्जु रिमालले बेलौती बिसौनास्थित आफ्फ्नै घरमामा लगेर माइला भाइ विवेक रिमाललाई पाल्दै शैक्षिक वातावरण प्रदान गरेको स्थानीयले बताएका छन्।

गत असोज २७ गते ३९ वर्षीय बुबा कृष्णबहादुर रिमालले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेपछि छोराको चिन्ताले ७३ वर्षको उमेरमा हजुरआमा गुद्यौली रिमालको गत मंसिर १९ गते उमेरमा निधन भएको थियो। उनीहरूको आमा शोभा रिमालको ५ वर्ष अगाडि पुस महिनामा अज्ञात रोगका कारण मृत्यु भएको थियो। श्रीमतीको मृत्युपछि बिरक्तिँदै हिँड्ने गरेका कृष्णबहादुरले गत असोजमा आत्महत्या गरका हुन्। अहिले आफ्ना सबै अभिभावकहरू गुमाएर बेसहारा बनेका टुहुरा बालकहरूलाई कान्छी (सौतेनी) आमा रमाबाहेक अरू कोही छैन। टुहरा बालकहरूको आमा शोभा रिमालको निधनपछि बुबा कृष्णबहादुर रिमालले रमासँग दोस्रो विवाह गरेका थिए।

ती बालकका लागि यसअघि पनि सहयोग जुटेको थियो। त्यस्तै रकममा यूकेबाट ७३ हजार रुपियाँ, पत्रकार दीपक अधिकारीको पहलमा १६ हजार, कालिका यातायात समितिबाट ५ हजार, गाउँको ज्योतिपुञ्ज सहकारीबाट ५ हजार सहयोग भएको थियो। टुहुरा बालकहरूका लागि संकलन भएको रकम ५ वर्षे मुद्दति खातामा जम्मा भएको छिमेकी ५७ वर्षीया डिलमाया रिमालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्