अवैध धन्दा रोकथाममा चासो देऊ



गत साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौंमा ३३ किलो अवैध सुन भित्रिएको खबर सेलाउन नपाउँदै प्रहरीले शनिबार फेरि १५ किलो सुन बरामद गरेको छ। रसुवा हुँदै काठमाडौं आइरहेको टाटा सुमो चेक जाँच गर्ने क्रममा प्रहरीले शनिबार बिहान गाडी चालकसहित सुन बरामद गरेको हो। गाडीको अगाडि रहने इन्जिनको ब्याट्री राख्ने भागको पछाडितर्फ ‘फल्स बटम’ बनाएर लुकाई–छिपाई राखेको अवस्थामा (१५ टुक्रा) १५ किलो सुन फेला परेको हो।

बरामद भएको सुन प्रचलित बजार मूल्यअनुसार ७ करोड २ लाख रुपियाँ बराबरको भएको अुनमान गरिएको छ। सो सुन चीनबाट रसुवाको केरुङ हुँदै काठमाडौं भित्रिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शनिबार बरामद भएको सुन वेल्डिङ गरेर बनाइएको फलामको विशेष बक्सबाट बरामद भएसँगै तस्करीमा संलग्नहरू लामो समयदेखि यस प्रकारले अवैध सुन भित्त्याउने काममा संलग्न छन् भनेर प्रस्ट अनुमान गर्न सकिन्छ। विगतमा पनि तातोपानी नाका हुँदै ठूलो परिमाणमा उपत्यकामा अवैध सुन भित्रिने गरेपछि सो नाका पटक–पटक चर्चामा आएको थियो। शनिबारसहित विगत ४ वर्षमा हवाई र स्थलमार्गबाट ३ सय ९३ किलो अवैध सुन काठमाडौं उपत्यका भित्रिएको छ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०६९⁄०७० मा ८३ किलो, २०७०⁄०७१ मा ९०, २०७१⁄०७२ मा १ सय ११ र २०७२⁄०७३ मा ९४ किलो सुन काठमाडौं भित्रिएको थियो। नियन्त्रणमा लिइएको ४ वर्षको सुनको राजस्व मात्र १५ करोड रुपियाँका हाराहारीको भएको बताइएको छ। गत साता संयुक्त अरब इमिरेट्स (यूएई) बाट भित्रिएको सुनको बजार मूल्य १ अर्ब ७० करोड रुपियाँका हाराहारीको भएको अनुमान गरिएको छ। पटक–पटक दोहोरिएका सुन काण्डमा नेपालमा ठूलै गिरोह अवैध सुन कारोबारमा सक्रिय रहेको प्रस्ट हुन्छ। यसरी दोहोरिने घटनामा सत्ता र शक्ति निकट रहेकाहरूको संलग्नता रहेको चर्चासमेत हुने गरेको छ।

व्यवसायीहरू भने नेपाल राष्ट्र बैंकले बजार मागअनुसार सुनको कोटा नबढाउँदा अवैध व्यापार मौलाएको तर्क गर्छन्। विवाह जस्ता चाडपर्वको समयमा बजारमा दैनिक ३० किलो सुनको माग हुने गरेकोमा राष्ट्र बैंकले १५ किलो मात्र उपलब्ध गराउने गरेको व्यवसायीहरू बताउँछन्। बैंकले नेपाल सुन चाँदी व्यवसायी महासंघलाई गत पुस २६ गते पठाएको पत्रमा दैनिक १५ किलोभन्दा बढी उपलब्ध गराउन नसक्ने जनाएसँगै बजार माग र आपूर्तिमा धेरै भिन्नता रहेको प्रस्ट बुझ्न सकिन्छ। महासंघको तथ्यांकअनुसार मुलुकभर २३ हजार सुन व्यवसायी छन्। माग र आपूर्तिलाई सन्तुलन गर्न नसक्दा बजारमा अवैध बाटोबाट सुन भित्रिने गरेको बताउने व्यवसायीहरू यसमा सरकारको कमजोरी औल्याउँछन्। व्यवसायीले उठाएको तर्कअनुसार सरकारले गम्भीरतापूर्वक बजार अनुगमन गरेर अवैध धन्दा रोकथाम गर्नुपर्छ सुनको माग र आपूर्तिलाई सन्तुलन गर्नै पर्छ।

प्रतिक्रिया दिनुहोस्