बानेश्वरका भरतको कथा



कमल ढकाल

फेरि त्यस ठाउँमा गई सतिदेवीको… अंग पतन भयो । त्यस ठाउँमा बाणेश्वर महादेव उत्पत्ति भए । शिवशक्ति स्वरूपले रहे । सतिदेवीको अंग पतन हुँदै जाने र त्याहाँ शिव शक्तिको उत्पत्ति हुने स्वस्थानी कथा माघ महिनामा घर–घरमा लगाइन्छ । हो त्यही कथाका बाणेश्वर कालक्रममा अपभ्रंश हुँदै गए । र जन्म्यो आजको बानेश्वर । बानेश्वरले बच्चा जन्मायो । नयाँ बानेश्वर ।

बाणेश्वरमा आएको परिवर्तसँगै २०१८ सालमा जन्मेका भरत ढकाल पनि परिवर्तन भए । उनले देख्दादेख्दै बानेश्वरमा चमत्कारिक परिवर्तन भयो । भूतले तर्साउने ठाउँमा मान्छेले तर्साउन थाले । भ्यागुताको ट्यार ट्यार मान्छे घ्वार घ्वार घुर्ने बन्यो । देखिएका खहरे र डिल बाटो बने । परसम्म घर नदेखिने ठाउँमा घरले नै घरहरू छेके । सिमिबोडी फल्ने बारीमा घर फल्न थाले । खोलाको बाढी हरायो । स्याल हराए । फयाउरो हराए । फलफूलका बोट हराए । साथी हराए । साथ हरायो । धेरै कुरा हराए । धेरै कुरा नयाँ पाइए ।

गाईबस्तुको ठाउँ कुकुरले लिए । जागिरको ठाउँ ब्यापारले लियो । गाईको दूध दहीको ठाउँ डेरीले लियो । काग कुकुरलाई भात चढाउने चलन माथ भयो । आफैंले तरकारी फलाउने ठाउँमा आज अर्कैले तरकारी पसल राखेको छ । आफैंले उब्जाउने धान आफैंले किनेर खानुपरेको छ । बानेश्वरको कोदो कि दिमागमा छ कि बानेश्वरकै पतालमा ।

बन्दै गरेको चाइना रोड (नयाँ बानेश्वर) मा फुटबल खेल्थे भरत । एक घन्टामा एक गाडी पनि आउँदैनथ्यो । आज एक घन्टा जाम हुन बेर लाग्दैन । मान्छे नदेख्ने नयाँ बानेश्वरमा प्रत्येक दश मिनेटमा जुलुसले झै बाटो काट्छन् । मीनभवनमा चाइनिज एम्बेसी थियो । चाइनिजले सर्कस देखाउँथे । त्यो हेर्न घरघरबाट चकटी र पिर्का लिएर जानेको घरघरमै आज बडेमानको टिभी छ । बडेमानका कुरा साना भए । साना कुरा बडेमान भए ।

भरतले बानेश्वरको रत्नराज्य स्कुल पढे । उनका चार बहिनी र भाइ पनि त्यही पढे । पढन जाँदा स्याल, फ्याउरो कराएर उनी फर्केको बताउँदा सही बोलेको होरजस्तो लाग्थ्यो । स्कुलबाट घर (आजको संगम चोक) आउँदा जम्मा दुई घर क्रस गर्नुपथ्र्याे उनले । धान खेतमा माछा मार्दै आफू फर्कंदा बाटोमा न्याउरी मुसा कुदेर हैरान पार्थे उनलाई । एक यस्तो कथा पनि सुनाए भरतले । २०२४ सालमा चट्यांग परेर घरमा आगलागी भयो । घर छेउको कल्किको रुख चिरिएर दुई फ्याक भयो । दमकल आउने बाटो थिएन खेतैखेत दमकल आयो । आजको संगम र मिलन चोकमा भएका बाटोमा उनी डिल देख्छन् । खहरे देख्छन् । साँँढे वा साइकल आयो भने डिलबाट हाम फालेको सम्झन्छन् । अंशबन्डामा सोझाले सडकछेउको पाउँथ्यो । बाठोले भित्र लिन्थे । आज सोझाको जग्गा आनाको करोड पुग्यो । बाठोको २५ ,३० लाख । जसरी सोझो बाठो भयो । बाठो लाटो भयो । बानेश्वरले त्यसरी नै फरक भयो ।

पूर्वआईजीपी माोतिलाल बोहरालाई २८ हजार रोपनीमा जग्गा बेच्दा फुर्केर आएथे भरतका बाबु । किनकि त्यतिबेला अरुले बाईस, तेईस हजार मात्र रोपनीको पाएथे । त्यो पैसाले बाबुले घरमा टायल हाले र अरु केही गरे । घरको टायल र अरु केहीमा दुई रोपनी लगभग सकियो । भरतका भाइ शरदले त्यो टायल अहिलेसम्म राखेका छन् । करोडौंको टायल ठानेर ।

अरुका लागि माथिका कुरा कथा हुन् । भरतका लागि यो यथार्थ हो । आँखैमा भएको उनको यथार्थको कुरा गर्दा उनकै बच्चाबच्ची पत्याउँदैनन् । कहिलेकाहीँ त उनी आफैं पनि हैन कि क्या हो यो जस्तो गर्छन् । किनकि उनको जुँगा नआउँदाका कुरा हुन यी । जुँगा आयो। दारी कपाल पनि फुल्न खोज्दै छन् । सेतो दारी कपाललाई छोप्न कालो हाल्छन् भरत । आफूले भोगेको कथा पुरानो हुने केही केमिकल छैन उनीसँग । किनकि उनका लागि त्यो पनि यथार्थ हो । यो पनि ।

गोर्खाको बोर्लाङ काठमाडौंको मूलपानी हँुदै भरतका बाबु शंकर बानेश्वरको संगम चोकमा जग्गा लिएर बसे । कारण नयाँ बानेश्वरको आजको व्यवस्थापिका सांसदमा कुनै समय आर्मी ब्यारेक थियो । जहाँ उनका बाबु काम गर्थे । मूलपानी जान आउन गाह्रो भएकाले उनले संगमचोकमा बस्न थाले । भरत त्यही जन्मे ।

रत्नराज्य स्कुल पढे । पाटन संयुक्त क्याम्पसमा आई ए र त्रिचन्द्रबाट बीए गरेका भरत आजको व्यापारीमा पर्छन् । जागिरले जग्गा बेचेको भोगेकाले जग्गा जोडन व्यापार गर्नुपर्छ भन्ने चेतना पलायो उनको । भरतले सामान्य पसलबाट व्यापार शुरू गरे । २०३४ मा एसएलसी दिएपछि शुरू भएको उनको पसल उधारोले पैसा पनि छैन सामान पनि छैन भयो । गार्मेन्टमा हात हाले । जुन त्यतिबेलाको चर्चित व्यापार थियो । अर्डर लिएर सिलाउने गर्दा गर्दै उनी अमेरिकामा इम्पोर्ट गर्ने बने । राम्रो चलिरहेको गार्मेन्ट उद्योग सरकार डब्लु टीओमा गएपछि धरासायी भयो । अहिले उनी हाउजिंग र हाईड्रोको व्यापारमा छन् ।

उनले एकपल्ट काललाई जितेका रहेछन्। घोप्टेभिरमा भएको थाईएयरवेज दुर्घटनाको टिकट उनको थियो । जसलाई लेमिनेसन गरेर राखेका छन् । सिंगापुरबाट बैंकक हुँदै काठमाडौं आउँदा थाई एयर बस क्र्यास भयो । थाईल्यान्ड बसौं केही किनौं भनेर श्रीमती सुशीलाले ढिपी नगरेको भए उनी उतिबेलै सकिनेरहेछन् । उनीसँगै सुब्रत धिताल र पृथ्वी राणा पनि बसे । जन्मदिन भनेर उनका साथी श्रीधर पौडेल उडे । के थाहा उनको मृत्यु दिन पो रहेछ । त्यति बेलादेखि उनी आफ्नो जीवन बोनस जीवन ठान्छन् र गरिब दीनदुःखीको सेवामा आफूलाई लगाएको बताउँछन्।

आफैंले पढेको रत्नराज्य स्कुल कान्छो पढने स्कुल, सुकुम्बासी पढने स्कुल भनेर हेपेपछि उनलाई चित्त दुख्यो । सञ्चालक समितिको अध्यक्षमा आफू बसेर त्यहाँ मन्दिर, प्रशासनिक र शैक्षिक उन्नयनमा आफूले गरेको योगदानले आफैं सन्तुष्ट भएको उनी बताउँछन् । बानेश्वरभित्रका हरेक सामुदायिक काममा आफ्नो सहभागिता रहेको उनी बताउँछन् ।

सन्तुष्ट र सफल लाइफ हुनलाई आफू परिवार सन्तुष्ट हुनुपर्छ । उनमा दुबै छ । श्रीमतील ≈यान्डिक्राफ्टको व्यापार गर्छिन् । छोरी शिवानी लन्डनमा पढेर नेपालमै काम गर्दै छिन् । छोरा सुलभ ब्रिटिस कलेजबाट पास भई कन्सल्टेन्सीको व्यापार गरिरहेका छन् । भाइबहिनी आ–आफनो तवरमा राम्रो गरिरहेछन् । सबैतिर सन्तुष्ट हुँदै आफूलाई सफल बनाउँदै भरत हिंडेका छन् ।

यो कथा बानेश्वरको भरतको हो । भरतको जस्तो कथा हरेक गाउँ शहर बन्दा बन्छ । पत्याउनै नसक्ने गरी गाउँ कुलेलाम ठोक्छ । शहर झिलमिल बन्छ । त्योभित्र धेरै कुरा हराउँछन् । धेरै कुरा पाइन्छन् । पाउने र हराउने यो चक्रमा आफूभित्रको नैतिकता, इमान्दारिता र लगनशीलता नहराएमा मान्छेहरू भरत झैं सफल हुन्छन्। ती कुरा हराएमा मान्छेहरू गुमनाम हुन्छन् । जसरी वानेश्वरकै कैयौं भरतहरू गुमनाम भएका छन्।
यो कथा बानेश्वरको भरतको हो । भरतको जस्तो कथा हरेक गाउँ शहर बन्दा बन्छ । पत्याउनै नसक्ने गरी गाउँ कुलेलाम ठोक्छ । शहर झिलमिल बन्छ । त्योभित्र धेरै कुरा हराउँछन् । धेरै कुरा पाइन्छन् । पाउने र हराउने यो चक्रमा आफूभित्रको नैतिकता, इमान्दारिता र लगनशीलता भएमा मान्छेहरु भरत झैं सफल हुन्छन् । ती कुरा हराएमा मान्छेहरु गुमनाम हुन्छन् । जसरी बानेश्वरकै कैयौं भरतहरु गुमनाम भएका छन् ।

प्रतिक्रिया दिनुहोस्