पृथ्वीनारायणको राष्ट्रिय नीतिको सान्दर्भिकता



(देवेन्द्र अर्याल ‘आँसु) अप्रत्यक्षरुपमा भए पनि यस वर्षको पुस २७ लाई पृथ्वी जयन्ती वा राष्ट्रिय एकता दिवसका रुपमा मनाइयो । लगभग २ सय ५० वर्षअगाडि पृथ्वीनारायणले एकीकरण गरेको यो मुलुक आजसम्म आफ्नै अस्तित्व, वीरता, गौरवगाथा, इतिहासलाई जीवन्त राख्न सफल भएको छ । नेपाल राज्यका एकीकरणकर्ता वा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपालीहरूका आस्था वा सम्मानका प्रतीक हुन् । यो विशाल नेपालको निर्माणमा जीवनभर लाग्ने श्रेय केवल उनै पृथ्वीनारायणलाई जान्छ । उनकै कुशल नेतृत्वका कारण आज विश्वजगत्मा नेपालले आफ्नो शिर उच्चो पार्न सफल भएको छ । स–साना छरिएर रहेका राज्यलाई पृथ्वीनारायणले एकीकरण नगरेको भए आज हाम्रो देश नेपालको वर्तमान स्वरुपको अड्कल काट्न हामीलाई त्यति सहज हुने थिएन । जसका कारण विश्वमा एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका रुपमा नेपालको पहिचान वा गौरव मिल्ने थिएन । त्यसैले सार्वभौम स्वतन्त्र नेपालको श्रेय पृथ्वीनारायण शाहलाई नै जान्छ ।

पृथ्वीनारायण पक्कै पनि शाहवंशीय शासक हुन् । त्यो भन्दा बढी उनी नेपाल राज्य र नेपाली जनका भाग्य निर्माता हुन् । कसैलाई उनी राजा हुन् भन्दा यदि अत्युक्ति हुन्छ भने उनलाई नेपाल राज्य एकीकरणका नेतृत्वकर्ता, आर्थिक नीतिका अभियन्ताका रुपमा पनि लिन सकिन्छ । पृथ्वीनारायणको आर्थिक नीतिलाई वर्तमान परिप्रेक्ष्यमा पनि सूक्ष्मरुपमा विश्लेषण गर्न सकिन्छ । उनको आर्थिक नीति वर्तमान सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक रहेको पाइन्छ । जसलाई पृथ्वीनारायणको दूरदर्शिताको रुपमा लिन सकिन्छ । आफ्नो जीवनकालमा अनेकौँ सुधार गरेर नेपाल र नेपालीका लागि प्रेरणाका स्रोत बनेका महान् पुरुषको जन्मजयत्नी मनाउन पनि हामी हिच्किचाइरहेका छौँ । हामी आयातीत वा प्रायोजित स्वतन्तत्राका पक्षधर त होइनाँै नि ? तब किन त पृथ्वी जयन्ती मनाउन सङ्कोच ? विदेशी नेता वा व्यक्तिको जन्मदिन मनाउन पछि नहट्ने हामी प्रेरणाका पुञ्ज, एकीकरणका अभियन्ता, समाज सुधारक, महान् राष्ट्रवादी, विश्वपुरुषको जन्मदिन मनाउन पनि घृणा गर्दछौँ ।

राजनीतिक वृत्तमा हिजोआज फलानाको जस्तो राष्ट्रवाद भन्ने सस्ता नारा सुनिन्छन् । नेपाली नेताहरू जो आफूलाई सच्चा राष्ट्रवादी ठान्छन्, उनीहरूलाई पृथ्वीनारायण शाहको जीवनीलाई पुनः पटक–पटक पढ्न र विचार–विमर्श गर्न अनुरोध गर्दछु । पृथ्वीनारायण शाहको तिनै विचारहरू उनका दूरदर्शी सोचाइका कारण नै नेपालले आफ्नो अस्मिता जोगाउन सफल भएको हो । उनै महापुरुषद्वारा व्यक्त भएका विभिन्न सारगर्भित उद्गारको महत्वपूर्ण ग्रन्थ पनि छ, त्यसलाई दिव्योपदेश भनिन्छ । जसमा उनका अनेकौँ विषयका महत्वपूर्ण वाणीहरू समेटिएका छन् । उनका प्रत्येक वाणीमा नेपालको बृहत्तर हितको उदाहरण प्राप्त गर्न सकिन्छ । नेपालले लिनुपर्ने आर्थिक, सामाजिक, वैदेशिक, राजनीतिक, कूटनीतिक नीतिहरू आजका दिनमा पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक नै मानिएका छन् ।

घूस खान्या र घूस दिन्या राष्ट्रका महान् शत्रु हुन् । नियानिसाफ बिगार्ने घूस खाने र दिने हुन् भनी प्रशासन व्यवस्थालाई चुस्त, दुरुस्त, स्वच्छ राख्नुपर्ने उनको यस भनाइमा प्रशासनको प्रभावकारिता र विश्वासको घनिभूत अर्थ पाइन्छ । भ्रष्टाचार, घूसखोरीजस्तो खराब कार्यलाई निर्मूल नगरेसम्म अर्थतन्त्रमा व्यापक लुछाचुँडी हुन्छ र जसले कानुनलाई पनि तोड्न सक्छ । यो देशलाई चार वर्ण छत्तीस जातको फूलबारीका रुपमा स्वीकार्ने शाहले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको रुपमा प्रस्तुत गर्दै नेपालले दुई छिमेकीका बीचमा रहँदा खेल्नुपर्ने भूमिका तथा दुबै छिमेकीका बीच समान नीति अवलम्बन गर्नुपर्ने गुढ रहस्य पनि पाइन्छ । उक्त भनाइमा नेपालले दुवै मित्रराष्ट्रका बीचमा सञ्चालन गर्नुपर्ने परराष्ट्र नीतिप्रति लक्षित गरेको सहजै प्रस्टिन्छ । उनको प्रजा मोटा भया दरबार बलियो रहन्छ भन्ने उक्तिमा दरबार वा शासक मात्र होइन जनता पनि सम्पन्न र शक्तिशाली हुनुपर्ने कुरामा जोड दिएको पाइन्छ ।

पृथ्वीनारायणको नीतिमा उद्योगधन्दालाई पनि विशेषरुपमा जोड दिएको पाइन्छ । खानी र खेती हुने ठाउँमा बस्ती भए बस्ती उठाएर पनि खानी र खेतीको काम चलाउनु भन्ने यस भनाइमा स्वदेशी वस्तुको उत्पादन र सञ्चालनमा जोड दिएको पाइन्छ । हाम्रो जस्तो गरिब राष्ट्रले विदेशी अर्थतन्त्र भित्र्याउन खोज्नुभन्दा स्वदेशी अर्थतन्त्रलाई नै मजबुत बनाउनु बढी सान्दर्भिक देखिन्छ । आफ्ना देशमा कपडा बुन्न जान्नेलाई नमुना देखाई सघाउनु र बुन्न लगाउनु, यसो गर्दा देशको नगद बाहिर जाँदैन भन्ने पृथ्वीनारायणको यस उक्तिबाट राष्ट्रिय उत्पादनमा महत्व दिएमा स्वदेशी नगद बाहिर जाँदैन र पुँजीको स्रोत बढ्न जान्छ भन्ने प्रष्ट हुन्छ ।

त्यसैले नेपाललाई आजको यस स्थितिमा ल्याउने कार्यमा पृथ्वीनारायण शाहको बहादुरिता, दूरदर्शिता तथा साहसलाई नेपाली जनताले कदापि भुल्नुहुँदैन र भुल्ने पनि छैनन् । उनका दिव्योपदेश वर्तमान समयमा पनि उत्तिकै सार्थक र सान्दर्भिक छन् । उनका प्रत्येक कदम बृहत्तर नेपालको हितमा रहेको तथ्य हामीले मनन गर्न सक्छाँै । साँच्चै नै पृथ्वीनारायण शाह कुशल शासक मात्र थिएनन्, उनी एउटा कुशल अर्थशास्त्री वा विचारक पनि थिए ।

प्रतिक्रिया दिनुहोस्