कालो र सेतोको खेल



धरहरा वरिपरि हिजो दिनभर एउटै चर्चा चलिरह्यो। त्यो हो कालोबाट सेतो हुने खेल। अर्थात् ब्लाक एन्ड ह्वाइट गेम। कुरो कुन सन्दर्भमा भनेर बुझ्दाखेरी दादागिरी र गुण्डागिरी गरी अकुत सम्पत्ति कमाएका डनहरू कानुनको नजरबाट बच्न नेताहरूको सरणमा जाने। यहाँ त्यस्तै भइरहेको छ।

गणेश लामा, मीनकृष्ण महर्जन, कुमार घैंटे, चरी, मिलन चक्रेलगायतका डनहरू कानुनको पञ्जाबाट बच्न नेताहरूको पछि लाग्दै विभिन्न पार्टीमा छिरेका थिए। उनीहरू नेताहरूको आशीर्वादका कारण कानुनबाट बच्दै आइरहेका छन्। कुख्यात डन दीपक मनाङे राप्रपामा प्रवेश गरेका छन्। दीपक मनाङेमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन गरिरहेको छ।

उनी सायद यही केसलाई ढाकछोप गर्न⁄गराउन राप्रपामा छिरेको हो वा दादागिरीको राजनीति गर्नलाई हो भनेर धरहरालाई चिसो पसेको छ। डनहरू पार्टीमा छिर्नुभनेको केबल ब्लाक एन्ड ह्वाइट गेममात्र हो। नेताहरूले यस्तै डनहरूको प्रयोग गरी बेला बेलामा धम्कीको राजनीति गर्दै आइरहेको धरहरालाई थाहा छ।

यदि धम्कीको राजनीति चल्छ भने त्यस्तो राजनीतिले हुने देशको विकास कस्तो हुने हो र देश कुन दिशामा जाला त भन्ने यक्ष प्रश्न उठ्न थालेको छ। पाठकहरू केही भन्नुहुन्छ कि!

प्रतिक्रिया दिनुहोस्