कृषि संकलन केन्द्र निर्माण हुँदै



पर्वत, (नेस)।

जिल्लाको सूदुर दक्षिणको त्रिवेणी गाविसमा कृषि उपज संकलन केन्द्रको निर्माण कार्य सुरु गरिएको छ । लघु घरेलु तथा कृषि जन्य बस्तुहरुको संकलन गरी बिक्री कार्यमा सहयोग पु¥याउने उद्देश्यले उक्त संकलन केन्द्रको निर्माण गर्न लागिएको हो ।

त्रिवेणी गाविस २ मा निर्माण गर्न लागिएको उक्त संकलन केन्द्रका लागि त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाले जग्गा प्रदान गरेको छ । कृषकहरुले उत्पादन गरेका तरकारीहरुको संकलनका लागि संकलन केन्द्रले महत्पूर्ण भूमिका खेल्ने संकलन केन्द्र निर्माणमा सहयोग गरेको लघु उद्यम विकास कार्यक्रमकी करुणा पुलामी पुने बताईन ।

संकलन केन्द्रमा लघु उद्यमीले उत्पादन गरेका उत्पादनहरुलाई समेत संकलन गरिनेछ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको उक्त गाविसमा उद्यमी तथा कृषकहरुले उत्पादन गरेको सामाग्रीले बजार नपाएको गुनासो गरीरहेको बेला उक्त संकलन केन्द्रको निर्माण गर्न लागिएको हो ।

संकलन केन्द्र निर्माणका लागि जिल्ला कृषि विकास कार्यालय पर्वतले ६ लाख रुपैंया प्रदान गरेको छ । यसैगरी उक्त संकलन केन्द्र निर्माणका लागि लघु उद्यम विकास कार्यक्रमले ३ लाख ५० हजार र गाउँ विकास समिति त्रिवेणीले ५० हजार रुपैंया सहयोग गरेका छन ।

कुल १६ लाखमा निर्माण सम्पन्न हुने गरी निर्माण शुरु गरिएको संकलन केन्द्रमा ३ वटा कोठा निर्माण गरिने भएको छ । सहकारी संस्थाले एउटा कोठा प्रयोग गर्ने गरी बाँकी दुई वटा कोठामा कृषि जन्य वस्तुहरुको संकलन गरिने छ ।

व्यापारीक केन्द्र टाढा भएकाले त्रिवेणी गाविसका कृषकहरुले उत्पादन गरेका सामाग्रीहरुको बिक्री वितरणमा समस्या पर्दै आएका कारण पनि उक्त संकलन केन्द्र निर्माणको कार्य अगाडि बढाइएको सहकारी संस्थाका अध्यक्ष भिमसेन गुरुङले जानकारी दिए ।
उनका अनुसार संकलन केन्द्रका लागि बजेटको भने अझै अपुग भएको छ । कुल १६ लाख लागत लाग्ने उक्त भवनका लागि हालसम्म १० लाख मात्र सहयोग भएको छ । बाँकी रकम स्थानीयको प्रयासमा संकलन गरिनेगरी आफूहरुले योजना गरेको अध्यक्ष गुरुङ बताउँछन ।

प्रतिक्रिया दिनुहोस्