पृथ्वीनारायण, जयन्त राना र नून



(गणेश निरौला) विश्वका कुनै पनि राष्ट्र निर्माणको क्रम त्यसै राष्ट्रका लागि सबैभन्दा महत्वपूर्ण विषय हुन्छ । राष्ट्र निर्माताको योगदानलाई विश्वका सबै सभ्य र सु–संस्कृत राष्ट्रका नागरिकले यथोचित श्रद्धा र राष्ट्रिय सम्मान प्रदान गरेका हुन्छन् । इटालीमा कबुर, मेजिनी र गेरिबाल्डीलाई दिएको सम्मान, जर्मनीमा विस्मार्क र टर्कीमा अब्दुल कमाल पासालाई प्रदान गरिएको स्थान ती देशमा अन्य कसैले कहिल्यै प्राप्त गर्न सक्तैनन् । सामन्त सी ह्वाङ टीलाई कम्युनिस्ट चीनले दिएको सम्मानित स्थान कसैले खोस्न सक्दैन । अरु त अरु, मंगोलियाले झन्डै एक हजार वर्षपछाडि चङ्गेज खाँले राष्ट्रनिर्माण र विस्तारमा पुर्याएको योगदानको कदर गरी भर्खरै राष्ट्रिय विभूतिको दर्जा दिइयो ।

चङ्गेज खाँको राष्ट्रिय निर्माणको महत्ताअगाडि मान्छेलाई जिउँदै उमालेर मार्नेसम्मका उनका आततायी र क्रुर कृत्य गौण बन्न पुगे । तर, विडम्बना छ नेपालमा एउटा पार्टीलाई सत्तामा सहभागी बनाउन र त्यसका नेतालाई प्रधानमन्त्री बनाउन देशभित्रका आफ्नै सत्र हजार दाजुभाइ, दिदीबहिनी मारिन्छन् र मार्न अगुवाइ गर्नेलाई महान् नेता भन्नुपर्छ भनी हामीलाई पढाइन्छ । क्रान्तिकारी, अग्रगामी नेता मान्नुपर्छ भनी हामीलाई सिकाइन्छ । अनि त्यति पनि (१७ हजार) मान्छे नमारी सिंगो नेपाल निर्माण गर्ने पृथ्वीनारायण शाहलाई खुनी, आक्रमणकारी, विस्तारवादी, सामन्ती शासक भनी प्रचार गरिन्छ । नेपालभित्रका सारा नेपालीका वर्तमान दुर्गतिका एकमात्र कारण उनै पृथ्वीनारायण शाह हुन् भनिन्छ ।

एकातिर ‘नेपालु नामक राष्ट्र निर्माण गरेर नेपाली जातिलाई पृथ्वीनारायण शाहले दिएको योगदानको अवमूल्यन गर्ने कृतघ्नहरूको भीड छ, अर्कातिर ‘जयन्त रानाुहरूको जुलुस छ । यी कृतघ्नहरू साझा फूलबारीको फूल बनेर सुवासित हुनुभन्दा गमलामा फुल्न रुचाउनेहरू गमला अर्कैको घरमा शोभा बन्न सजिलो हुने कुराको हेक्का राख्दैनन् । ‘जयन्त राना’ले आफ्नो राष्ट्र गोर्खाप्रति गद्दारी गरे, शत्रुराज्यसँग मिल्न पुगे । पृथ्वीले ‘अघि तँ हाम्रै थिइस्, आइज’ भनेर बोलाउँदा ‘जयप्रकाशको नून खाएँ, नूनकै सोझो गर्छु’ भन्ने जवाफ पठाए । स्वराष्ट्रप्रति घात गर्ने द्रोही जयन्त रानालाई पछि पृथ्वीले कडाइका साथ ज्यान सजाय दिए । अहिले राष्ट्रनिर्माता पृथ्वीनारायणका विरुद्ध आवाज उठाउनेहरूले क–कसका नून खाएका छन् ? राष्ट्रिय एकताका विरुद्ध बोल्ने आँट यिनीहरूलाई कहाँबाट मिल्दै छ ? खोज्न ढिला भइसकेको छ ।

यिनै खुनी–आक्रमणकारी पृथ्वीनारायण हुन्, जसले सन् १७६७ मा कप्तान किनलकको नेतृत्वमा नेपाली भूभागमाथि चढाइ गर्न आएको २४ सय इसाई फौजलाई सिन्धुलीमा छापामार युद्ध गरी भारततिरै धपाइदिएका थिए । भनिन्छ, ६ सय अङ्ग्रेज सेना मात्र जिउँदो फर्कन सफल भए । यिनै विस्तारवादी सामन्ती राजा हुन्, जसले सन् १७६३ मा भर्खरै निर्माण हुँदै गरेको नेपाल राष्ट्रमाथि आक्रमण गर्न आएको गुरगिन खाँको नेतृत्वको ३ हजार मुसलमान फौजलाई पराजित गरी बंगालका नवाब मिर कासिमलाई मुखभरीको जवाफ दिएका थिए । ‘हिन्दुस्थानु भनिएको भारतबाट नेपालमाथि कहिले क्रिस्तान सेनाले आक्रमण गर्ने, कहिले इस्लाम सेना आइलाग्ने । अनि त पृथ्वीनारायणले नेपाललाई चिनाउँदै भने– ‘यो असल हिन्दुस्थान हो ।’ तर धर्मलाई अफिम मान्ने जयन्त रानाहरूले कहाँ असली हिन्दुस्थान रहन दिए र ? धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर जनसाधारणलाई प्रलोभनमा पारी धर्मपरिवर्तन गर्ने बाटो खोलिदिए । परिवर्तित धर्मले मानिसलाई मोक्ष होइन बन्धनमा पारेको पाइन्छ– धार्मिक, सांस्कृतिक बन्धन अनि आर्थिक राजनीतिक बन्धन ।

हुलका हुल इसाईहरू दक्षिण भारतबाट पसेका थिए सोह्रौ शताब्दीको अन्त्यतिर । ती फ्रान्सेली, पोर्चुगाली, अङ्गे्रजी आदि हुलहरूको आपसमै काटोछिनो थियो । आखिर अंग्रेजहरू अब्बल साम्राज्यवादी बनेर देखा परे । अरुलाई पछि पार्दै सम्पूर्ण भारतमा यिनकै हालिमुहाली चल्यो झन्डै ४ सय वर्षसम्म । यिनै फिरंगीहरू हुन् चीनमा अफिमको व्यापार गरी चिनियाँ जनतालाई अफिमची बनाउने ।

व्यापारमार्फत चिनियाँ शासनमा हात हाल्ने । भारत र चीन दुवैतिर गोडा पसार्ने त्यस साम्राज्यवादी शक्तिलाई पृथ्वीनारायणले नेपालमा भने ढिम्किनै दिएनन् । बरु उपत्यका कब्जा गरेपछि साठीभन्दा बढी संख्याका इसाई पादरीहरूलाई देशबाट बाहिर पठाइदिए । यसरी चीन र भारत दुवै देशमा साम्राज्यवादी इसाई अंग्रेजहरूको बिगबिगी चल्नु तर बीचको फुच्चे नेपालमा उनीहरूको हैकम नचल्नु । यो त विश्वविजयी अंग्रेजहरूको शानमा गुस्ताखी भएन र ? अनि कप्तान किनलकको पराजय, इसाई पादरीहरूको निष्कासन, कर्कपेट्रिक र क्याप्टन नक्स मिसनको असफलता र नेपाल–अंग्रेज युद्धमा पाएको आंशिक विफलता (भारतीय राज्यसरह बनाउन नसकेको) अनि २०१९ सालको संविधानले नेपाललाई हिन्दूराज्य भनी गरेको घोषणा, यी सबैको एकमुष्ट परिणाम २०६३ मा जस्केलाबाट नेपाललाई धर्मनिरपेक्ष राष्ट्र भनी उद्घोषण गरेको होइन भन्ने के आधार छ ? वास्तवमा एसिया, अफ्रिका, अस्ट्रेलिया, अमेरिका सबै महादेशहरूमा शासन गर्दै गरेको अंग्रेज शक्तिलाई कोदे राजा पृथ्वीनारायणले नेपालबाट घोक्रेठ्याक लगाएर गरेको अपराधको सजाय राजा ज्ञानेन्द्रको पालामा आएर नेपाली राजसंस्थाले पाएको होइन भन्ने के आधार छ ? विस्तारवादी पृथ्वीनारायणका वंशज वीरेन्द्र राजा भएका बेला प्रजातान्त्रिक भारतले नेपालमाथि नाकाबन्दी गर्दा समर्थन गर्ने एकमात्र राष्ट्र इङ्ल्यान्ड थियो । अहिले २०७२ मा भारतले नेपालमाथि नाकाबन्दी गर्दा पनि त्यही इङ्ल्यान्ड नै भारतसँग चोचोमोचो मिलाउँछ ।

पृथ्वीनारायणले गरेको नेपाल एकीकरणलाई गोर्खाको विस्तार भन्नेहरूले अंग्रेजले सन् १७६७ देखि हालसम्म तीन सय वर्षको अवधिमा पटक–पटक नेपालमाथि गरेको आक्रमणलाई के भन्छन् ? अंग्रेजकै सिको गरी उत्तराधिकारीका रुपमा दक्षिणी शासकहरूले नेपाली सार्वभौमसत्ताको ढाड सेकेको दृश्य अहिलेका ‘जयन्त रानाहरूु आनन्द मानेर हेरिरहेका छन् । चाहे सिहंदरबारअगाडिको पृथ्वीको शालिक ढाल्ने कम्युनिस्टहरू हुन् वा पुस २७ को पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस खाने कांग्रेसहरू हुन्– दुवै जयन्त रानाका सन्तानहरू हुन् । ऊ जयन्त रानाले जयप्रकाशको नून खाएको थियो, यिनीहरूले क–कसको नून खाएका छन् ? खोज्न ढिला भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्