विश्वकपमा टोली संख्या विस्तारित



लन्डन, (एजेन्सी)
विश्व फुटबल महासंघ फिफाले आगामी सन् २०२६ को विश्वकप फुटबलमा ४८ टोलीलाई सहभागी गराउने प्रस्तावलाई बहुमतले पारित गरेको छ।
स्विट्जरल्यान्डको जुरिचमा मंगलबार भएको फिफाको बैठकले फिफा अध्यक्ष जियानी इन्फान्टिन्होको प्रस्तावलाई बहुमतले पारीत गरेको हो। विश्वकपलाई बिस्तार गर्नका लागि दिइएको पाँच विकल्पहरूमध्ये फिफा काउन्सिलका ३७ सदस्यहरूबीच गराइएको मतदानमा ४८ टोली सहभागी गराउने प्रस्ताव बहुमतले पारित गरिएको हो।
उक्त निर्णय अनुसार सन् २०२६ सम्म विश्वकप खेल्ने टिमको संख्या ४८ पुग्ने जनाइएको छ। सहभागी टोलीलाई तीन–तीन गरी १६ समूहमा विभाजन गरिनेछ र समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा प्रवेश पाउनेछन्।

यसअघि सन् १९९८ देखि २४ बाट बढाएर हाल ३२ टिमलाई सहभागी गराउन थालिएको हो। योसँगै विश्वकप फुटबलको अन्तिम चरणमा हुँदै आएका ६४ खेलको संख्या बढेर ८० पुग्नेछन्। विश्वकप सम्पन्न गर्न ३२ दिन लाग्ने समेत जनाइएको छ।

पूर्व अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाले जियानीको योजनामा खुशी भएको प्रतिक्रिया दिएका छन्। उनले भने—म जियानीको पहलबाट प्रसन्न भएको छु। किनभने यसले धेरै टिमलाई मौका दिन्छ। यसअघि विश्वकपमा छनोट हुने मौका हुन्छ कि हुँदैन भनेर टिमलाई चिन्ता हुन्छ। यो नयाँ ढाँचाले गर्दा हरेक राष्ट्रको सपना पुरा पनि हुनेछ। साथै यसले फुटबलको लागि उत्साह पनि बनाइरहन्छ। म यसलाई अदभुत भन्छु।

आगामी २०२६ विश्वकप आयोजक राष्ट्र छिनोफानो भएको छैन। आगामी दिनमा यसको पनि टुंगो लाग्नेछ। ४८ राष्ट्रको विश्वकपमा सहभागिता हुने भएपछि युरोपबाट १३ बाट बढेर १६ टिम बन्नेछ। त्यस्तै एशिया र अफ्रिकाबाट ९⁄९ राष्ट्र विश्वकपमा सहभागिता हुनेछन्। हाल एशियाबाट चार र अफ्रिकाबाट पाँच टिम विश्वकपमा छनोट हुने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्