पर्वतमा उत्पादित लप्सीका १० टन परिकार अमेरिका निकासी गर्ने तयारी



(दुर्गाप्रसाद शर्मा)/पर्वत, २७ पुस ।
पर्वतका विभिन्न गाविसमा लप्सीबाट उत्पादित विभिन्न परिकारको अमेरिकामा माग बढेको छ । जिल्लाको मुडिकुवामा संचालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा उत्पादित लप्सका परिकार गत वर्षदेखि अमेरिका पठाउन थालिएको हो ।
१५ वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले आफ्ना उत्पादन अमेरिका पठाउने तयारी गरेको छ । अमेरिकाको हिमाल गार्मेन्ट कम्पनीमा हिमाली जडीबुटी तथा फलफूलका उत्पादन विभाग हेर्ने क्रिग सेभर आफैं उद्योगमा आएर गत वर्ष लप्सीका परिकार र कफी अमेरिकामा विक्रिका लागि लगेका थिए ।

यस वर्ष १० मेट्रिक टन लप्सीका परिवारको माग भएको उद्योगका संचालक थानेश्वर भुसालले जानकारी दिए । गत वर्ष लप्सीको तीन सय किलो क्यान्डी, तीन सय किलो अचार र २० किलो ग्रिनविन कफी अमेरिका पठाइएको थियो ।

गार्मेन्टका तर्फबाट आएका क्रिगले उद्योगमा करिब एक महिना बसेर त्यसको गुणस्तर परीक्षणपछि उत्कृष्ट ठहर गर्दै आफ्नो कम्पनीका लागि लैजाने सम्झौता गरेका थिए । कम्पनीलाई गत वर्ष क्यान्डी प्रतिकिलो २ सय ५०, अचार २ सय ८० र ग्रिनविन कफी ८ सय रुपैयाँ किलोमा बिक्री गरेकोमा यस वर्ष लप्सीका सवै परिकारको न्यूनतम मुल्य ३ सय भन्दा बढि कायम गरेर पठाउने तयारी भएको सञ्चालक भुसालले बताए ।

यस वर्ष उद्योगमा ४० टन लप्सी प्रशोधन गर्ने लक्ष्य राखिएको छ । यतिवेला लप्सी टिप्न र प्रशोधन गर्न भ्याईनभ्याई भएको छ । लप्सी प्रशोधन गरेर १० मेट्रिकटन परिकार पुगेपछि अमेरिका पठाईने भुसालले जानकारी दिए ।

२०५८ सालमा स्थानीय स्रोतसाधनबाट सुरु भएको उद्योगले वैधानिक प्रक्रिया पूरा गर्दै उत्पादन अमेरिकासम्म पु¥याउन सक्नु ठूलो उपलब्धिका रूपमा लिएको उनको भनाइ छ । सुरुका चरणमा वैधानिकता पाउन मात्रै निकै संघर्ष गर्नुपरेको तर निरन्तर लागिपरेपछि अब बल्ल आफ्नो उत्पादनले पनि विदेशको बजार पाउने आस बढाएको उनले बताए । एक जिल्ला एक उत्पादन अन्तर्गत लप्सी छनोट हुनुले उद्योगको विस्तार र विकासमा थप हौसला मिलेको उनले बताए । उद्योगले तीन वर्षअघि घरेलु तथा साना उद्योग महासंघबाट गुणस्तरमा उत्कृष्ट अवार्ड समेत पाएको थियो ।

गत वर्ष खरिद सम्झौता गर्न उद्योगमा आएका क्रिगले लप्सीको परिकार अमेरिकाका लागि नयाँ स्वाद हुने बताएका थिए । अघिल्लो वर्ष लप्सीका परिकारको माग निकै बढेपछि यस वर्ष ठुलो मात्रामा माग भएको हो । अमेरिका पु¥याएपछि प्रतिकिलो ५० डलरमा बिक्री गर्न सकिने उनले बताए । गत वर्ष कम्पनीले परीक्षणका रूपमा लगेको भएपनि यसपटक भने पुर्ण व्यावसायीक रुपमै लैजान थालिएको हो । नेपालका पहाडी क्षेत्रमा मात्रै पाइने लप्सीबारे हिमाल गार्मेण्टले पनि अनुसन्धान गरिरहेको बताइएको छ ।

कृषि उद्यमी ऋषिकेश तिवारीले २०५५ देखि पर्वतमा लप्सीको सम्भावना देखेर यसको प्रशोधन प्रक्रिया सुरु गर्नुभएको थियो । पर्वत सामुदायिक विकास संस्थामार्फत उद्योग सञ्चालनका लागि प्राविधिक प्रक्रियामा लागेका तिवारीको सक्रियतामा लामो संघर्षपछि उद्योग सञ्चालनमा ल्याइएको थियो । सुरुमा आफुले लप्सीको सम्भावना देखेर उद्योग खोल्ने कुरा गर्दा जानकारहरूले नै जिस्काउँने अनुभब सुनाउँदै उहाँले भन्नुभयो अहिले पर्वत लप्सीमय बन्दै छ । उद्योगको उत्पादन अमेरिकासम्म र्पुयाउनुले सफलताको उचाइमा पु¥याएको उनको भनाई छ ।

वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि पर्वतका करिब तीन दर्जन गाविसमा यसको व्यावसायिक खेती सुरु भएको छ । जिविस र उद्योग वाणिज्य संघले तीन वर्षदेखि थालेको एक जिल्ला एक उत्पादन कार्यक्रमले पनि लप्सीको उत्पादन जिल्लामा बर्सेनी  बढदै गएको हो । यसैबीच पर्वत उद्योग बाणिज्य संघले नेपालमै पहिलोपटक लप्सी प्रशोधनका लागि आधुनिक मेशिन समेत भित्र्याएको छ ।

पर्वतमा यस वर्ष झण्डै १ सय मेट्रिक टन लप्सी उत्पादन हुने एक गाउँ एक उत्पादन कार्यक्रमका सदस्य सचिब टंकनाथ शर्माले  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्