भियतनाममा रक्तदान अनिवार्य गर्ने तयारी



हनोई, (एजेन्सी) भियतनाम सन् २०१८ देखि लागू हुने गरी प्रत्येक भियतनामी बयस्कले वर्षमा न्यूनतम एक पटक अनिवार्य रक्तदान गर्नैपर्ने प्रस्ताव ल्याएको छ। भियतनाममा स्वास्थ्य उपचार तथा शल्यक्रियाका लागि चरम रक्त अभाव र रक्त सङकलनका लागि ठूलो धनराशी खर्च हुने गरेकाले स्वास्थ्य मन्त्रालयले उक्त रक्त तथा मानव कोषिका कानुनको मस्यौदा तयार गरेको हो।

यस योजनामा अनिवार्य रक्तदान लागू गर्ने र ऐच्छिक रक्तदानलाई प्रोत्साहन दिन सरकारी खर्चमा वृद्धि गरिनेसमेत दुईवटा कार्ययोजना कार्यान्वयन गरिने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अनिवार्य रक्तदान योजनामा मुलुकका करिब चार करोड साठी लाख बयस्कले वर्षको कम्तीमा एकपटक प्रतिव्यक्ति एक युनिट अर्थात दुई सय पचास मिलिलिटरको दरले अनिवार्य रक्तदान गर्नुपर्नेछ। रक्तसम्बन्धी र रक्तजन्य अन्य रोगबाट पीडित करिब १ करोड ४२ लाख रोगीहरूको हकमा भने यो योजना लागू नहुने जनाइएको छ।

यसले वार्षिक २ करोड ८० लाख युनिट रगत संकलन हुनेछ। यसबाट देशभरिका अस्पताल तथा स्वास्थ्य केन्द्रका लागि आवश्यक रगतको माग पूरा हुने र केही बचतसमेत हुने जनाइएको छ। पहिलो योजनाको सफल कार्यान्वयनपछि सरकारले दोस्रो योजना कार्यान्वयनमा ल्याउनेछ।

अनिवार्य रक्तदान योजना लागू भएपछि सरकारी खर्चमा बचत हुने रकमको तुलनामा दोस्रो योजना कम खर्चिलो हुने अनुमान गरिएको छ। प्रस्तावित नयाँ कानुन भियतनामको माथिल्लो संसद्मा सन् २०१८ मा पेश गर्ने तयारी भइरहेको जनाइएको छ।

भियतनाममा रक्तदानका लागि बाध्य नपारिने भएकाले स्वेच्छिक रक्तदाताहरूको संख्या ज्यादै न्यून रहेको पाइन्छ। सामान्यतया एकजना बयस्कले उमेर तथा तौलको आधारमा वर्षको चार पटकसम्म रक्तदान गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्