नोट सटहीका लागि भारतले बोलायो



नेपाल समाचारपत्र
काठमाडौं
नेपालमा रहेका पाँच सय र एक हजार दरका भारु नोट सटहीका लागि मापदण्ड तय गर्न भारतले नेपाली पक्षलाई बोलाएको छ। भारु सटहीका लागि भारतले शुक्रबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिनुभयो।

सहायक प्रवक्ता पण्डितले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो–‘भारतको परराष्ट्रमार्फत् नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई पत्र पठाएको छ। पत्रमा मोडालिटी र प्रक्रियाको बारेमा छलफल गर्न को–को कहिले आउनु भनिएको छ।’

उहाँका अनुसार राष्ट्र बैंक, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधिमण्डल भारत जानेछ र त्यसले भारु कसरी साट्ने भनेर समय सीमा तोकेर मापदण्ड तयार गर्नेछ। पत्रको जवाफ अर्थ मन्त्रालयले शुक्रबार नेै सकेसम्म सटही छिटो गर्न आग्रह गर्दै पत्र पठाएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। नोट सटही सहजीकरणका लागि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधिमण्डल साथै विदेशी विनिमय वित्त व्यवस्थापक, भारतस्थित नेपाली राजदूताबासबाट इकोनोमिक मिनिस्टर प्रतिनिमण्डलमा जाने तयारी भए पनि कहिले जाने भन्ने बारेमा भने टुंगो लागेको छैन। अनौपचारिक रूपमा भारतीय पक्षसँगको कुराकानीमा जनवरीभित्रै टुंगो लाग्ने आश्वसन पाएको राष्ट्र बैंक स्रोतको भनाइ छ।

राष्ट्र बैंकका अनुसार यतिबेला नेपाली बैंक तथा वित्तीय संस्थाहरूसँग ३ अर्ब ३६ लाख ९० हजार भारु छ। बाहिर १० अर्बभन्दा बढी भारु पाँच सय र एक हजारका नोट रहेको अनुमान गरिएको छ। यसअघि भारतले अरू दरका एक अर्ब भारु दिन यसै साता सहमति जनाएको थियो। पाँच सय र हजार दरका नोटको प्रतिबन्धपछि नेपालमा भारु संकट गहिरिँदै गएकाले त्यसको समाधानका निम्ति भारतले साना दरका एक अर्ब भारु दिन तयार भएको हो। भारतबाट नेपालले वार्षिक ६ अर्ब भारु खरिद गर्ने सहमति रहे पनि चालू वर्षमा नेपालले जम्मा १ अर्ब २० करोड भारुमात्रै खरिद गर्न पाएको छ।

प्रतिक्रिया दिनुहोस्