सांसदको भाऊ



सरकारले छल नीति र कुटनीति अपनाएर संसदमा संविधान संशोधन विधेयक पेस गरेपछि साना दलका सांसदलाई ढुङ्गा खोज्दा देउता भेटेझै भएको छ। हिजो मन्त्री बन्न नपाउँदा प्रतिपक्षी भएका साना दलका सांसदको ह्वातै भाऊ आकाशिएको छ। संविधान संशोधन विधेयक पारित गराउनको लागि अहिलेको अंकगणित हेर्ने हो भने सरकारलाई झिनो मात्र संख्याको अभाव छ।

सत्ता पक्ष र प्रतिपक्षी दल दुवै साना दलका सांसदलाई तानातान गर्न थालेका छन्। साना दलका सांसदको भाऊ दिनको दुगुना रातको चौगुणा बढेको छ। राप्रपाका अध्यक्ष कमल थापा र फोरम गच्छदारका अध्यक्ष विजय गच्छदारले धर्म नछोडे सरकारको लागि त्यति धेरै समस्या छैन। तर मालदार मन्त्रालय नपाएसम्म दुवैले माल अनुसारको मोल गर्ने भएका छन्। राप्रपा र फोरम लोकतान्त्रिकका ५१ जना सांसद छन्।

संविधान संशोधन विधेयक पारित गराउनको लागि दुई दल निर्णायक र साना दलका सांसद सहायक देखिएका छन्। थापा र गच्छदारले प्रधानमन्त्री प्रचण्डको काँध थाप्ने हो भने साना दलको भाऊ अझै बढ्ने धरहराले देख्दै आएको छ। संविधान कार्यान्वयन गर्न लाग्नु पर्ने जिम्मेवार दलहरू अहिले सांसदहरूलाई तानातान गर्ने अवस्थामा आइपुगेका छन्। प्रतिपक्षी दल एमालेले तानेर राखे सरकारले विधेयक हावा खानेछ। सरकारले बुहमत पुर्याए प्रतिपक्षी दल एमाले सहितका दल हिस्स हुने छन्। यो संविधान संशोधन पनि विचित्रै हुने भो बा ? नेपालको कानुन दैव जानुन भन्ने जस्तै छ दलको ताल र पारा। धरहरा अहिले यस्तै दृष्य मात्र देखिरहेको छ।

प्रतिक्रिया दिनुहोस्