एक दर्जन बढी गाविसमा पानीको हाहाकार



 

गौशाला, २५ पुस । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका एक दर्जनभन्दा बढी गाविसमा खानेपानीको हाहाकार छ ।

विगत छ महिनादेखि पानी नपर्दा जिल्लाको पशुपतिनगर, किसाननगर, हातिलेट, लक्ष्मीनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, बर्दिबास, गौरीवास, खयमारा, बिजलपुरा, निगौल, गौशाला नगरपालिकालगायतका ठाउँमा खानेपानीको हाहाकार भएको स्थानीयवासीले बताएका छन् ।

ढुङ्गा र चट्टानयुक्त भौगोलिक स्थितिका कारण अहिले हिउँदमै ती गाविसमा पानीको सतह घटेर धेरै तल गइसकेको र विभिन्न गाविसमा रहेका २०० भन्दा बढी इनार पनि सुकिसकेका छन् भने बाँकी इनारको पानी पनि पाताल लागिसकेको बेलगाछीका काशी महतोले बताउनुभयो ।

सयौँ इनार एकैचोटी सुक्दा त्यस क्षेत्रमा खानेपानीको समस्या विकराल भएको र बाँकी इनारबाट एक गाग्री पानी निकाल्न पनि निकै समय खर्चिनु परेको लक्ष्मीनियाँका शङ्कर महतोले बताउनुभयो ।

जिल्लाको उत्तरी क्षेत्रका अधिकांश गाविसमा पानीको हाहाकार भएपछि त्यस क्षेत्रका प्रत्येक परिवारका एक सदस्यले दैनिक खानेपानीको जोहोमा छिमेकी गाविस र वरपरका नदी, खोलामा धाउनुपरेको गौशालाका हजारी साहले बताउनुभयो ।

खयरमाराका देवेन्द्र यादवका अनुसार पानीको अभावमा त्यस क्षेत्रका बासिन्दाले जसोतसो खाना पकाउने र पिउनेसम्म गरेका छन् भने नुहाउने, लुगाधुने, बस्तुभाउलाई खुवाउने सातामा दुई/तीनपटक मात्रै गर्ने गरेका छन् ।

ती गाविसमा विभिन्न सामाजिक सङ्घसंस्था र गाविसकै खर्चमै पनि धेरै पहिले जडान गरिएका दर्जनौँ धारा, स्यालो ट्युबवेल र डिप बोरिङ पुरानो भएर सञ्चालन नहुँदा स्थानीयवासी पानी जोहोका लागि छिमेकी जिल्लाको धनुषा बजार र सात किलोमिटर टाढासम्म रहेको छिमेकी गाविसका नदी नाला र इनारमा जानुपरेको पशुपति नगरका वीरेन्द्र महतोले बताउनुभयो ।

हिउँदकै बेला त्यस क्षेत्रका दर्जनौँ गाविसमा पानीको अभाव भएपछि चिन्तित भएका स्थानीयवासीले सम्बन्धित निकायलाई खानेपानीको जोहो गरिदिन माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्