एपीएफका वर्ष खेलाडीलाई सम्मान



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल एपीएफ क्लबका विभिन्न खेलका ३३ जना खेलाडी ‘एपीएफ प्लेयर अफ दी इअर–२०७३’ द्वारा आइतबार सम्मानित भएका छन्। सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका संरक्षकसमेत रहनुभएका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सशस्त्र प्रहरी बल प्रधानकार्यालयमा आफ्ना खेलाडीलाई सम्मानित गर्नुभयो। जसमा राईले करातेका सुनिल लामा, बक्सिङका सरस्वती राना र पूर्णबहादुर लामा, भलिबलकी सरस्वती चौधरी, फुटवलका रञ्जन विष्ट र अञ्जन विष्ट गरी ६ जना खेलाडीलाई ‘मोस्ट भ्यालुएबल’ प्लेयर तथा कराते प्रशिक्षक दीपक श्रेष्ठलाई उत्कृष्ट प्रशिक्षक तथा विभिन्न विद्याका खेलाडीहरूलाई ‘एपीएफ प्लेयर अफ दी इअर’ अवार्ड प्रदान गर्नुभयो।

एपीएफका वर्ष खेलाडी भएर पुरस्कार पाउनेमा फुटबलका मिलन राई र अनिता बस्नेत, भलिबलका महेन्द्र श्रेष्ठ र विनिता बुढाथोकी, ब्याडमिन्टनका विशाल प्रधान र शिक्षा श्रेष्ठ तथा क्रिकेटका वसन्त रेग्मी र करुणा भण्डारी, ह्यान्डबलका मनोज ठगुन्ना र उमा राई, बक्सिङका पुरन राई र माला राई, करातेका विजय लामा र अनु अधिकारी तथा तेक्वान्दोका भरत बोहरा र अप्सरा कार्की रहेका छन्।

यसै गरी उसुका मंगलप्रसाद थारु र सुस्मिता तामाङ्, एथलेटिक्सका गोविन्द पार्की र कान्छीमाया कोजु, टेवुल टेनिसका शिवसुन्दर गोठे र सेलिखा खड्की, आईटीएफ तेक्वान्दोका श्यामकृष्ण श्रेष्ठ तथा जुडोकी देवीका खड्काले एपीएफका वर्ष खेलाडी हुँदै पुरस्कार प्राप्त गरे।

सशस्त्र प्रहरी महानिरीक्षक राईले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलका खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरी संगठन र देशको नाम उच्च तुल्याएको बताउनुभयो। राईले नेपाल एपीएफ क्लबको पुरुष फुटबल टिमलाई पाँच वर्षका लागि एक करोड ११ लाख रुपियाँको प्रायोजन सम्झौताका साथै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सो क्लबका खेलाडीहरूलाई खेल पोशाक तथा ट्रयाकसुट उपलब्ध गराउने अग्नी ग्रुप काठमाडौंका डाइरेक्टर अर्जुन शर्मालाई कदरपत्र प्रदान गर्नुभयो।

एपीएफ क्लबका खेलाडीहरूले हालसम्म विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितमा ४२ स्वर्ण, ३० रजत र २७ कास्य पदक प्राप्त गरेको छ। यसै गरी राष्ट्रिय स्तरमा ७१४ स्वर्ण, ५८३ रजत र ५७९ कास्य गरी कूल १ हजार ९ सय ७५ पदक हासिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्