राष्ट्रिय सरसफाइ अभियानको हालत



(शुकदेव थपलिया ) सन् १९८० को दशकमा संयुक्त राष्ट्रसंघको घोषणापछि नेपालले पनि सरसफाइ अभियानलाई समर्थन गर्दै अगाडी बढेको इतिहास देख्न सकिन्छ। सन् १९९० देखी २००९ सम्म विश्वमा सरसफाइको पहुँचमा वार्षिक वृद्धिदर १.९ प्रतिशत पुगेको आंकडा छ। नेपाल सरकारले देशव्यापी रूपमा सरसफाइ गुरुयोजना घोषणा गरेको वर्षाैँ बितिसकेको छ। राष्ट्रिय सरसफाइ सम्बन्धी विभिन्न नीति बनेबाट देशमा राष्ट्रिय सरसफाइ सप्ताह, विश्व हात धुने दिवस, विश्व खानेपानी दिवस, विश्व चर्पी दिवसजस्ता दिवसहरू कार्यक्रम गरी भव्यरूपमा मनाइने प्रचलन छ। यस्तो प्रचलनले व्यावहारिक रूपमा कति लाभ भयो भनेर कुनै अनुगमन एवम् मूल्यांकन हुने विषय भने सधैँ ओझेलमा नै छ।

नेपालको एउटा आँकडा अनुसार अझै ५७ प्रतिशत जनतामा आधारभूत चर्पी छैन। सरसफाइको दृष्टिले हेर्ने हो भने ४३ प्रतिशत जनता मात्रै यसको पहुँचमा छन्। सन् २०१७ सम्म आधारभुत सरसफाइको पहिलो पाटो चर्पी पुर्याउने लक्ष्य राख्दै आएको छ। तर त्यसको काम कसरी कुन गतिमा छ भन्ने कुरा समय सिमा नजिकँदे गर्दा मात्रै व्युँझिएको भन्ने राष्ट्रिय तथ्याङकले स्पष्ट पार्दछ। दक्षिण एसियाली सम्मेलनबाट नेपालले यसमा प्रतिवद्धता समेत जनाएको थियो।

अन्तर्राष्ट्रिय सरसफाइ वर्ष २००८ र यसको मस्यौदा २००९ तयार भएको थियो भने नेपालमा पनि २०११ मा सरसफाइ सम्बन्धीको मस्यौदालाई सबै निकायसम्म पुर्याइसकेको भनेको थियो। तर त्यसको सुस्त गतिको जिम्मेवार हाम्रो व्यक्तिवादी संस्कार नै हो। नेपालमा पहिलो पटक राष्ट्रिय सरसफाइ बर्ष सन् २००८ देखी गुरुयोजना थालिएको भए पनि त्यसको कामको सुस्तता र हाल आइपुग्दाका समयहरूमा दौडधुपहरूले हाम्रो मन कति सफा छ भन्ने प्रश्न उब्जाएको छ। यसको लागी वि.सं. ०६८⁄४⁄१९ बाट मन्त्रिपरिषदबाटै स्वीकृत भएको भए पनि हालसम्म किन अपेक्षित अनुसार काम भएन भन्ने प्रश्नहरू खडा पनि नभएका होइनन्ु। आवश्यकता के हो भन्ने कुरा आफँैले पहिचान नगर्दा, घरमा टिभी भएकाहरूको चर्पी हुँदैन। यो कस्तो सभ्यता हो र हाम्रो मन कति सफा छ भन्ने यसैबाट झल्किन्छ।

राष्ट्रिय रूपमा छुट्याइने बजेट सरसफाइमा २० प्रतिशत व्यवस्था गरेको छ। सिङ्गो देशलाई सरसफाइ युक्त बनाउने योजनाका साथ देशमा राष्ट्रिय सरसफाइ समितिको निर्देशन हुँदै, राष्ट्रिय सरसफाइ समन्वय समिति, क्षेत्रिय, जिल्लास्तरीय, नगरपालिका र गाविस स्तरीय हुँदै विद्यालय तहसम्म समन्वय गर्ने संयन्त्रहरू भए पनि त्यसको कसरी परिचालन गरिएको छ भन्ने पनि अन्यौल नै देखिन्छ। यसका कार्यदलका सदस्यहरू के गर्दै छन् ? हालसम्म आईपुग्दा लक्ष्यअनुरूप काम हुन सकेको छैन। जम्मा ३८ जिल्ला मात्र खुला दिशामुक्त घोषणा भैसकेका छन् भने १२२ नगरपालिका, ३१५७ गा.वि.स. र अञ्चलहरूमा धौलागिरी र राप्ती मात्रै घोषणा भएको तथ्याङ्क छ। घोषणा भैसकेका जिल्लाका न.पा र गा.विसहरूमा अवस्था कस्तो छ ? घोषणा गर्नका लागी मात्रै घोषणा भएका हुन् भन्ने कुरा त्यसमा देखिएको चुनौतीहरूले बताउँछ। विद्यालय, टोलमा अन्य सार्वजानिक शौचालयहरूको अवस्था कस्तो छ ? हामी बाटोघाटोमा खुलारूपमा दिसापिसाब गरिरहेकै देख्छौँ। गफ ठुला गर्ने र बिलासीतामा खर्च गर्ने हाम्रो नेपालीपन फोहोरी मनले हामीलाई पर धेकेल्ने कुरा हामीले समयमा नै बुझ्न जरुरी छ।

स्थानिय स्वायत्त शासन २०५६ कार्यान्वयनको तहमा कसरी काम भएका छन् भन्ने बारे जवाफै पाउन कठिन छ। सरसफाइको स्तरमा केहि जिल्ला–जिल्लामा गएर सरकारको सरसफाइ दुतको रूपमा नियुक्ति भएका धुर्मस–सुन्तलीले पनि केही पहल नगरेका भने होइनन्। उनीहरू गए, रमाईलो गरे, व्यंग्य गरे, तर हाम्रो मन व्यावहारिक पाटामा त्यसलाई लागु गर्ने हिम्मत किन राख्दैन ? अरूले आएर गर्दिन्छन भन्ने अपेक्षा राख्नु नै गलत हो। हामी आँफै सक्षम छौँ, स्थानिय स्रोतसाधनहरू पर्याप्त छन्। हामी हाफैं फोहोरी मनहरूलाई चिर्दै लागौं। सरसफाइ अभियान असफल हुनुको कारण र चुनौतीहरू पनि नभएका होइन्। भुकम्पले असहजता निम्त्याउनु, एनजीओहरूले हस्तक्षेपकारी भुमिका निर्वाह गर्नु, बजेटको पाटो कमजोृर हुनु, पानीको अभाव खड्कनु, परनिर्भर भएर बस्नु, स्वार्थहरू पलाउनुजस्ता कुराले हामी लक्ष्य हासील गर्न कठिन यात्राहरू भोग्दै छौँ। सभ्यताको बहस गर्ने हाम्रो समाज चर्पीमा दिशा पिसाब गर्नुपर्छ भन्ने हेक्का किन राख्न सक्दैन ?

आफ्नो सरसफाइ आफँैले गर्नुपर्छ भन्ने सामान्य कुरा पनि नबुझ्ने र बुझेकाहरू पनि बुझ पचाउँदै नगरपालिका र सरकारको मुख ताक्ने प्रवृत्ति पनि दोषी छ। हाम्रा मनहरू दोषी छन्। हामी नै फोहोरी मनहरू राखेर बर्षौंदेखि खोक्रे आडम्बर भिरेर बसेका छौँ। न्युन सरसफाइकै कारण हामीले १० अर्बभन्दा बढि क्षती व्यहोर्नुपरेको रेकर्ड छ। हामी अनावश्यक गफमा मस्त हुन सक्ने आफैले खाएको थाल किन नमाझ्ने ?

हामीलाई हुने स्वास्थ्य समस्यामध्ये ८० प्रतिशत हाम्रो लापरबाहि र सरसफाइको कमीले हुने गरेको पाइन्छ। तर पनि हाम्रै हातमा भएका हाम्रै सरसफाइका विषयमा अरूलाई कुर्दै कहिलेसम्म बसिरहने ? हाम्रा फोहोरी मनहरू सफा नभएसम्म प्रगतीका ढोकाहरू सँधै बन्द भैरहनेछन्। त्यसैले आफू र आफ्नो गाउँ–टोलको सफाइका लागि दाताको मुख ताकेर नबसौं।

प्रतिक्रिया दिनुहोस्