आर्मी च्याम्पियन



रोशन पराजुली, हेटौंडा

गत बर्ष पहिलो संस्करणमा भएको पराजयको बदला लिँदैं त्रिभुवन आर्मी क्लबले हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि जितेको छ । गत बर्षको विजेता मनाङ मस्र्याङ्दी क्लबलाई २–० गोल अन्तरले हराएर आर्मीले यसपटक बदला पुरा गरेर उपाधि हात पार्यो । आर्मीले नगद ५ लाख जित्यो भने मनाङले तीन लाख नगद प्राप्त गरेको छ ।

आर्मीको जितमा भरत खवासले १८ औं मिनेटमा गोल गरेका थिए । दीपक गुरुङले थ्रो गरेको बलमा डिबक्सभित्र अनमार्क रहेका खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । खवासले गोल गरेको १ मिनेट नबित्दै मनाङलाई ठूलो झड्का लाग्यो । १९ औं मिनेटमा मनाङका मुख्य फरवार्ड हफिज ओलावालेले रेडकार्ड खाएसँगै मनाङ दस खेलाडीमा सीमित भएको थियो ।

ओलावालेले आर्मीका सन्तोष तामाङलाई फाउल गरेबापत् रेफ्री सुदीश पाण्डेले पहेंलो कार्ड देखाएका थिए । पहेंलो कार्ड देखाएपछि ओलावालेले रेफ्री पाण्डेलाई अपशब्द प्रयोग गरका थिए । त्यसपछि पाण्डेले उनलाई रेड कार्ड देखाएका थिए ।

आर्मीले खेललाई आफ्नो नियन्त्रणमा राखे पनि दोस्रो गोलका लागि ८४ औं मिनेट कुर्नुपरेको थियो । आर्मीका खवासलाई मनाङका डिफेन्डर सिसेकोले फाउल गरेबापत् प्राप्त फ्रिकिकमा आर्मीका सन्तोष तामाङले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । सन्तोषले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५० हजार रुपियाँ पनि प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्