शंखमुलले जित्यो रेडबुल फुटसल उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
रेडबुल र एएमए इभेन्टसको सहकार्यमा राष्ट्रिय स्तरीय प्रतियोगिता रेडबुल फुटसल लिगको उपाधि शंखमुल फुटसल क्लबले जितेको छ ।

शनिबार चौर रिक्रिएसनल सेन्टर बाँसबारीमा शनिबार भएको अन्तिम चरणको प्रतिस्पर्धामा शंखमुलले सामाखुसी फुटसल क्लबलाई ३–२ ले हराएको हो । पहिलो पटक डबल लिगमा भएको १६ विभिन्न टिमले सहभागि जनाएको प्रतियोगिताको विजेता शंखमुलले १० लाख नगद पनि हात पार्यो । उपविजेता सामाखुसीले ५ लाख रुपैयाँमै चित्त बुझाएको छ ।

शंखमुलको जितमा कप्तान संजोग चाम्लिङ राई, रोनिल महर्जन र शेर बहादुर थापाले एक–एक गोल गरे । सामाखुसिका कप्तान नविन लामा र सौरभ मगरले गोल गरेपनि जितका लागि पर्याप्त भएन । नविन भने उत्कृष्ट खेलाडी हुँदै ५० हजार रुपियाँ प्राप्त गरे भने उत्कृष्ट गोलरक्षक किकअफ फुटसलका तेजेन्द्र सिंह थापाले पनि ५० हजार नगद हासिल गरे । विजेता टोलीलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नगद,ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्