आर्मीलाई पोहोरकै प्रतिद्वन्द्वी



नेपाल समाचारपत्र
हेटौंडा
त्रिभुवन आर्मी क्लब दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता–२०७३ को फाइनलमा प्रवेश गरेको छ।

हेटौंडाको प्राइम पोलिक्लिनिक विजय युथ क्लबको चुनौती ४–१ गोलअन्तरले समाप्त पार्दै शनिबार हुने फाइनलमा मनाङमस्र्याङ्दी क्लबसँग आर्मीले भेट पक्का गरेको हो। यी दुवै टिम हेटौंडामा पहिलो संस्करणमा पनि आमनेसामने भएका थिए, त्यस बेला मनाङले जित दर्ता गरेको थियो।

एक गोलले पछाडि परेको अवस्थामा चर्चित स्ट्राइकर नवयुग श्रेष्ठले खेल सकिन १६ सेकेन्ड मात्र बाँकी रहेको अवस्थामा गोल गर्दै खेललाई बराबरीमा ल्याएसँगै आर्मीको जितको आधार तय भएको थियो। यसअघि विजय युथले मार्टिन अजाइको गोलबाट अग्रता लिएको थियो।

निर्धारित समय १–१ गोलको बराबरी समाप्त भएपछि अतिरिक्त २० मिनेट समयमा आर्मी हाबी हुँदै तीन गोल गरेको थियो। आर्मीले ९१औं मिनेटमा भरत खवासको गोलमार्फत २–१ को अग्रता लिएको थियो। विजय युथका तीन जना डिफेन्डरलाई छक्याउँदै नवयुगले दिएको क्रसमा भरतले गोल गरेका थिए। उनले प्रतियोगितामा गरेको यो पहिलो गोल थियो।

९४औं मिनेटमा हिरण्य मगरले हेडमार्फत गोल गर्दै आर्मीको अग्रतालाई फराकिलो पारे। उनले भरतको क्रसमा गोल गरेका थिए। १०६ मिनेटमा आर्मीका दीप लामाले नवयुगको क्रसलाई गोलमा परिणत गरेसँगै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको थियो। आर्मीका बालकृष्ण श्रेष्ठ म्यान अफ दी म्याच बन्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्