संसारकै सानो कृति गाभा



छविरमण सिलवाल
चालीसको दशकको सक्रिय स्रष्टा हुन् सुनिल पुरी । विशेषतः साहित्यका सबै विधाहरूमा कलम चलाउने पुरी नेपाली साहित्यको भीडमा अग्लो पहिचान बनाएका स्रष्टा हुन् । नेपाली साहित्यमा उनले गरेका कार्यहरू प्रायः नौला, नवीन र मननयोग्य बन्ने गरेका छन् । केही न केही नयाँ कार्यहरू गरेर नेपाली साहित्यका पाठकहरूका माझ चर्चा गर्न लायक बन्छन् । आजकल सुनिल पुरी कता हराए होलान् भन्ने लागिरहेको बेलामा साहित्यका कोसेली लिएर फुत्त निस्कन्छन्, यो उनको पुरानै विशेषता हो । मैले सुनिल पुरीलाई चिन्दा साहित्यमा आफ्नो पहिचान बनाइसकेका थिए । त्यस बेला पनि उनमा कुनै घमण्ड थिएन, आज पनि उही सुनील पुरी छन् झन् आत्मीय । साहित्य र साहित्यिक व्यक्तिहरूलाई माया र सम्मान गर्ने । उनी जस्तै छन्, उनका सिर्जना र सिर्जना जस्तै छन् सुनील पुरी ।

उनका सिर्जनाहरू पनि समाजभन्दा पर्तिरका हुँदैनन् । यही समाजभित्रै रहेर खारिएका सर्जक पुरी समाजकै कुरीतिविरुद्ध धावा बोलिरहेका हुन्छन्, आफ्ना सिर्जनामार्फत । उनका पछिल्लो कृति ‘गाभा’ हाइकुसङ्ग्रह अहिले चर्चाको विषय बनेको छ । १+१.५ सेन्टिमिटरको प्रस्तुत संग्रह विश्वकै सानो आकारको पुस्तकको रुपमा लिन सकिन्छ र यसले गिनिज बुकमा दर्ता हुनको लागि उचित अवसरको पर्खाइमा रहेको छ । उनी हाइकु लेखनकै सिलसिलामा भन्छन्– ‘यो विधा सूक्ष्म तथा प्रभावकारी भाव सम्प्रेषण गर्ने विधा भएकोले मलाई यस विधाले तानेको हो ।’ ५–७–५ शब्दहरूमा सबै कुराहरू पोख्न सक्नु यस विधाको विशेषता हो । थोरै शब्दमा धेरै कुरा भन्न सक्नु यसको अर्को विशेषता हो । नेपालमा हाइकु लेखनको इतिहास लामो नभए पनि अहिले सर्जकहरूले यस विधालाई निकै रुचिका साथ लिएको पाइन्छ । छोटा, चोटिला र पोटिला भएकै कारणबाट पनि यस विधाको रुचि बढेको पक्कै हो । संसार बुझ्नको लागि जम्मा १७ शब्द ।
वास्तवमा आकारको हिसाबले सानो भए पनि यसमा पोखिएका लेखनले पुस्तकको महत्व बढाउने हो । जहाँ समाज बोलेको छ, त्यहाँ साहित्य हुन्छ । सामाजिक सङ्गत–विसङ्गतहरूलाई खोतलेर यथार्थ चित्रणका साथ समाजलाई नै सुम्पेर सजग गराउनु एउटा सर्जकको दायित्व पनि हो । सुनिल यस्ता कुरामा निकै सतर्क भएर कलम चलाउने गर्दछन् । उनका सिर्जनाहरूले समाजका यथार्थता बोलिरहेका हुन्छन् । वास्तवमा भन्ने हो भने साहित्यले समाजलाई डोर्याउन सक्नुपर्छ । वर्तमान समयको विकृत रुपलाई त अझ साहित्यले मार्गनिर्देशन गर्न जरुरी भएको छ, तर पार्टी साहित्यले साहित्यको मर्म नै भाँचिदिएको अवस्थामा सुनिल पुरीजस्ता सर्जक र सशक्त स्रष्टाहरूको सिर्जना आउनुले अवश्य पनि महत्व बोकेको हुन्छ ।

आज तिम्रो सम्झनामा गीतसङ्ग्रह, शहरको समाचार कवितासङ्ग्रह र प्रस्तुत हाइकुसङ्ग्रह गाभा उनका प्रकाशित कृतिहरू हुन् । हाइकु जापानबाट नेपालमा प्रवेश गरेको इतिहास हामीले पढेका छौं । वास्तवमा यो विधा प्र्रकृति र मान्छेबीचको सुमधुर सम्बन्धको सेतु हो जस्तो मलाई लाग्छ । बीचको सात शब्दमा प्रकृतिको वर्णन अनिवार्य हुन्छ । जस्तैः
असारे फूल
फुल्दछ ढकमक्क
हाँस्छ मुसुक्क ।

यस्तै सम्बन्धहरूलाई जोडेर साहित्यको नयाँ विधा हाइकुमार्फत नेपाली साहित्यमा धेरै सर्जकहरूले कलम चलाएका छन् । ती सबै हाइकु भए या भएनन्, त्यो खोज अनुसन्धानको विषय बन्ला तर सुनिल पुरीका यी हाइकुहरू हाइकु लेखनमा लागेका सर्जकहरूको लागि प्रेरणाको स्रोत बन्न सक्छन् । गाभाभित्र एकाउन्न वटा हाइकुहरू छन् । सानो आकारको पुस्तक प्रकाशन गर्ने पहिलो लेखक त होइनन् उनी । सानो आकारका पुस्तकहरू थुप्रै प्रकाशित भएका छन्, तर सबैभन्दा सानो पुस्तक भने गाभालाई मान्न सकिन्छ । यसभित्रका सबै हाइकुहरू पनि उस्तै सुन्दर र कलात्मक छन् । नेपाली साहित्यको इतिहासमा एकपटक सबैले स्मरण गर्नुपर्ने कार्य सुनिल पुरीले गरेका छन्, गाभा हाइकुमार्फत ।

प्रतिक्रिया दिनुहोस्