माछापुच्छ्रे बैंकले बोनस र हकप्रद दिने



नेपाल समाचारपत्र
काठमाडौं
माछापुच्छ्रे बैंकको १८औं वार्षिक साधारणसभा शुक्रबार पोखरामा सम्पन्नभयो। साधारण सभाले बैंकको आर्थिक वर्ष २०७२⁄७३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीलाई हालको चुक्ता पुँजीको २० दशमलव ७५ प्रतिशत बोनस शेयर (कर प्रयोजनका लागि १ दशमलव शून्य ९ प्रतिशत नगद लाभांश) तथा तत्पश्चात कायम हुने चुक्ता पुँजीको १२ प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने प्रस्ताव पारित गरेको छ।
उक्त साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरूको तर्फबाट राममान श्रेष्ठ, ओमेशलाल श्रेष्ठ र विश्वप्रकाश गौतम सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित हुनुभएको छ।

हाल ३ अर्ब ८६ करोड रुपियाँ चुक्ता पुँजी रहेको बैंकको चुक्ता पुँजी जारी हुने प्रक्रियामा रहेको हकप्रद शेयरपश्चात ५ अर्ब ७९ करोड र १८औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर जारी भएपश्चात ६ अर्ब ५९ करोड रुपियाँ तथा सोही वार्षिक साधारण सभाबाट पारित हकप्रद शेयर जारी भएपश्चात ७ अर्ब ३९ करोड रुपियाँ कायम हुने बैंकले जनाएको छ।

बैंकले आव २०७३⁄७४ को पहिलो त्रैमाससम्ममा २४ करोड ६९ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ। गत असोज मसान्तसम्म ५८ अर्ब १३ करोड रुपियाँ निक्षेप परिचालन गरी ४९ अर्ब ८७ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ।बैकको शाखा संख्या ५६, एक्स्टेन्सन काउन्टर १ र ७२ वटा एटीएमबाट ४ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्